साउदी अरब विश्व फुटबलका नाम चलेका स्टारलाई आफ्नो घरेलु लिग खेलाउन चाहन्छ। ती स्टारको सूची बनिसक्यो। तिनलाई अनुबन्ध गर्नका लागि चाहिने आर्थिक स्रोतको पनि जोहो भइसक्यो। त्यसो भए के क्रिस्टियानो रोनाल्डोले आफ्ना पुराना साथी र प्रतिद्वन्द्वीसँग वा विरुद्धमा खेल्न पाउँछन् त? जवाफ सजिलो छ, पाउँछन्। आखिर पैसाले नलोभिने फुटबलर को होलान् र?
एक वर्ष मात्र भयो, साउदीले लिभ गल्फ शृंखला सुरु गरेको। यो यस्तो गल्फ प्रतियोगिता हो जसलाई साउदी विश्वकै उत्कृष्ट बनाउन चाहन्छ। यो लक्ष्य प्राप्त गर्न साउदीको सरकारी लगानी कोष पीआईएफले दुई अर्ब अमेरिकी डलर खर्च गर्दैछ।
साउदी गल्फपछि फुटबलमा केन्द्रित भएको हो। पीआईएफ अब घरेलु फुटबल लिग साउदी प्रो-लिग (एसपीएल) मा पैसा खन्याउँदैछ। सोमबार सार्वजनिक खबरअनुसार पीआईएफले साउदीका चार ठूला क्लबको स्वामित्व लिँदैछ। ती चार क्लब हुन्, अल अह्ली, अल इत्तिहाद, अल हिलाल र अल नासर।
इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडको ८० प्रतिशत सेयर खरिद गरेको पीआईएफले साउदीका यी चार क्लबमा ७५-७५ प्रतिशत सेयर खरिद गर्नेछ। बाँकी २५-२५ प्रतिशत भने गैरनाफामूलक संस्थाको नाममा रहनेछ। संस्थाको नेतृत्वमा तिनै क्लबका सदस्य रहनेछन्। साउदीका केही ठूला कम्पनीले अरू चार क्लबको स्वामित्व लिनेछन्।
यहाँ बिर्सन नहुने तथ्य के हो भने साउदीका सबै क्लब पहिलेबाटै त्यहाँको खेलकुद मन्त्रालयको अधीनमा छन्। अब भने यिनको सञ्चालन पद्धति परिवर्तन हुन लागेको हो। तर स्वामित्व परिवर्तन प्रक्रिया कसरी पूरा हुन्छ, धेरै जानकारी बाहिर ल्याइएको छैन।
जे होस्, साउदीको मुख्य उद्देश्य हो, घरेलु लिगलाई आकर्षक बनाउने। ताकि विश्व फुटबलमा नाम चलेका खेलाडी साउदीका क्लबबाट खेल्न तयार होऊन्। साउदी पुग्ने कतिपय खेलाडीलाई विश्व खेल इतिहासमै सबैभन्दा धेरै तलब दिइनेछ। हालका लागि बनेको योजना हो, २० खेलाडीको अनुबन्धन। जसलाई तलब दिन मात्र एक अर्ब अमेरिकी डलर आवश्यकता पर्ने देखिन्छ।
साउदीको यही योजनाको हिस्सा बन्दै रोनाल्डो गत नोभेम्बरमै अल नासेरसँग आबद्ध भएका थिए। पाँच पटक वर्ष पुरुष खेलाडी घोषित रोनाल्डोले सन् २०२५ सम्मका लागि सम्झौता गरेका हुन्। अल नासरले रोनाल्डोलाई कति तलब दिन्छ? यसको औपचारिक जानकारी छैन। तर बाहिर आएका हल्लाअनुसार रोनाल्डोले एक सिजनमा २० करोड अमेरिकी डलर पाउँछन्।
रोनाल्डोसम्मिलित अल नासरले यसपालि साउदी लिग जित्न सकेन। च्याम्पियन अल इत्तिहाद बन्यो। साउदी लिग विजेताको हैसियतले इत्तिहाद एसियाली च्याम्पियन्स लिगका लागि स्वतः छनोट भएको छ। नासरले भने प्लेअफ खेल्नेछ। रोनाल्डो हुँदा पनि च्याम्पियन बन्न नसक्नु, नासरका लागि असफलता हो। तर नासरले रोनाल्डो अनुबन्धनलाई लिग उपाधिभन्दा ठूलो सफलता मानेको छ।
रोनाल्डोको आगमनले साउदीलाई उत्साहित त बनाएकै छ, सँगसँगै अन्योल पनि उत्पन्न गरेको छ। अन्योल आगामी रणनीतिलाई लिएर हो। क्लबहरूलाई उनीहरूले चाहेको स्टार खेलाडी अनुबन्ध गर्न दिने कि सगोलमा अनुबन्ध गरेर सबै क्लबलाई भाग लगाउने?
पछिल्ला केही सातायता लियोनल मेस्सी पनि साउदी जाने चर्चा चलिरहेको छ। गत वर्ष मात्र अर्जेन्टिनालाई विश्वकप जिताएका मेस्सी साउदीको जुनै क्लब गए पनि उनको तलब रोनाल्डोको भन्दा बढी हुनेछ। रियल म्याड्रिड छाडेका करिम बेन्जेमा अर्का खेलाडी हुन्, जो साउदी जान सक्छन्। उनलाई साउदीको कुनै एक क्लबले नौ अंकको तलब दिने सर्तमा अनुबन्ध गर्ने खबर आइरहेका छन्।
साउदीको महत्त्वाकांक्षी योजना पूरा गर्ने जिम्मा प्रमुख कार्यकारी अधिकृत ग्यारी कुकको काँधमा छ। बेलायती नागरिक कुक लामो समय अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड नाइकसँग रहे। थाक्सिन सिनवात्राले म्यानचेस्टर सिटीको स्वामित्व लिएपछि कुक त्यता सरेका थिए। सिटीमा संयुक्त अरब इमिरेट्सको शाही परिवार भित्रिएपछि भने कुकको बसाइ छोट्टियो। जनवरीबाट उनी साउदी लिग हाँकिरहेका छन्।
साउदीले यो योजना यस्तो बेला बनाएको छ, जति बेला त्यहाँको फुटबलले विश्वकप २०२२ बिर्सिएको छैन। छिमेकी कतारले आयोजना गरेको विश्वकपमा साउदीले अर्जेन्टिनालाई स्तब्ध बनाएको थियो। अर्जेन्टिनामाथिको जितपछि साउदी लामो समय खुसीमा झुम्यो। त्यसको धङधङी अझै कायम छ। विश्वकपमा राष्ट्रिय टिमले गरेको बलियो प्रदर्शनले साउदी सरकारलाई समेत प्रभावित बनायो।
यहाँ प्रस्ट हुन जरुरी छ, साउदीको योजना घरेलु लिगलाई युरोपका ठूला लिगको उचाइमा पुर्याउने होइन। बरु विश्व खेलकुद मञ्चमा आफ्नो प्रभाव बढाउने हो। ताकि विश्वकप २०३० को आयोजना अधिकार पाउन सकियोस्।
साउदीले हाल जे प्रयास गरिरहेको छ, यो चीनले एक दशकअघि नै गरिसकेको हो। चीन विश्व फुटबलको शक्ति बन्ने चाहना राखेर अघि बढेको थियो। सरकारको चाहना पूरा गर्न चिनियाँ क्लब पनि लागिपरेकै हुन्। त्यहाँका धेरै क्लबले हाइप्रोफाइल खेलाडी चिनियाँ सुपर लिगमा पुर्याएकै हुन्। तर आखिरमा खर्चालु मोडल असफल भयो। आर्थिक मन्दी, त्यसपछि आइपरेको कोभिड-१९ महामारी लगायतले चिनियाँ सपना पूरा हुन सकेन।
साउदी सरकार घरेलु लिगलाई एसियाकै सबैभन्दा बलियो लिगचाहिँ बनाउन चाहन्छ। तर साउदी फुटबलको यो ‘ह्विम’ जुनसुकै बेला थला पर्नसक्छ। साउदीको नेतृत्वको प्राथमिकता परिवर्तन भए वा भनेजस्ता स्टार खेलाडीलाई आकर्षित गर्न नसके, साउदी लिगको महत्त्वाकांक्षा स्वतः धरापमा पर्नेछ। फेरि साउदी क्लबहरूको विगत पनि सम्झिन जरूरी छ। यी यस्ता क्लब हुन्, जसमाथि पटक पटक मुद्दा दायर भएको छ। कारण? विदेशी खेलाडीलाई तलब नदिएर। स्थान्तरण रकम तोकिएको समयमै चुक्ता नगरेर।
साउदीको फुटबल महत्त्वकांक्षाबारे जानकार व्यक्तिहरूसँग न्युयोर्क टाइम्सले अन्तरवार्ता लिएको छ। ती व्यक्तिहरूका अनुसार साउदीका क्लबले आफैँ नभई लिगले नै खेलाडी स्थान्तरणको जिम्मा लिनेछ। यस्तो केन्द्रिकृत शैली कुनै समय अमेरिकी लिग (एमएलएस)ले पनि प्रयोग गरेको थियो। यो शैली विश्वका धेरैजसो लिगमा अभ्यास गरिनेभन्दा फरक छ। ती लिगमा क्लबलाई स्वतन्त्रतापूर्वक खेलाडी खरिद बिक्री गर्न दिइन्छ।
साउदी लिगले खेलाडी अनुबन्धनका लागि ठ्याक्कै कति बजेट छुट्टयाएको छ? प्रस्ट छैन। तर के भनिन्छ भने, सूचीमा परेका खेलाडीलाई अनुबन्धन गर्न भने पुग्दो स्रोत छ। यो स्रोत उपलब्ध गराएको पीआईएफले नै हो। शक्तिशाली राजकुमार मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको पीआईएफले पहिलेबाटै साउदीका ठूला क्लबमा लगानी गर्दै आइरहेको छ। विशेषगरी चार ठूला क्लबलाई प्रयोजन पनि गर्दै आइरहेको छ।
रियाद र जेद्दा साउदीका दुई ठूला सहर हुन्। अल नासर र अल हिलाल रियादका क्लब हुन् भने अल इत्तिहाद र अल अह्ली जेद्दाका हुन्। पीआईएफले यी चार क्लबका लागि नयाँ स्पोर्ट कम्पलेक्स निर्माण गरिरहेको छ। पीएआईएफले क्लबलाई मात्र होइन पूरै लिग नै प्रायोजन गरेको छ। तर प्रयोजन गर्दा पीआईएफ सिधै आफ्नो नाम प्रयो गर्दैन, आफू अन्तर्गतका कम्पनीलाई अगाडि सार्छ।
नयाँ योजनासँग जानकार रहेकाहरू के भन्छन् भने, चार ठूला क्लबको भागमा तीन-तीन विदेशी स्टार खेलाडी पर्नेछन्। बाँकी आठ खेलाडी चाहिँ १२ क्लबमध्येकाले पाउनेछन्। यसरी माथिबाटै खेलाडी भाग लगाइन लाग्नुको सन्देश हो, अब साउदीमा क्लबलाई स्वायत्त ढंगमा चल्न दिइनेछैन।
यसकाे संकेत हो, साउदी आफ्नो परिचय परिवर्तन गर्ने अभियानमा छ। अभियानकै हिस्सा हो, फुटबलमा भइरहेको लगानी। साउदी आफ्नो अर्थतन्त्रलाई विविधीकरण पनि गर्न चाहन्छ। खाली तेलको मात्र र पर्न चाहँदैन। उसो त फुटबलबाहेकका खेल पनि साउदीको चासो छ।
खेलकुदमा साउदीको बढ्दो लगानीको कारण पीआईएफ हो। आफूले स्वामित्व लिएको न्युकासल युनाइटेडलाई खेलाडी अनुबन्धनका लागि पीआईएफले पर्याप्त स्रोत उपलब्ध गराएको छ। फलतः न्युकासल यसपालि प्रिमियर लिगमा चौथो बन्यो। दुई दशकपछि च्याम्पियन्स लिगमा स्थान बनायो।
साउदीकै अरामकोको पनि विश्व खेलकुदमा रूची छ। अरामकोले फर्मुला वानलाई प्रायोजन गरेको छ। यद्यपि साउदीको मुख्य खेलाडी भने पीआईएफ नै हो। जसले गल्फ जस्तो खेलमै अर्बौँ लगानी गरेको छ। पीआईएफको लिभ गल्फ प्रतियोगिता अहिले नै उत्तर अमेरिका र युरोपका स्थापित प्रतियोगितालाई टक्कर दिइरहेको छ।
खेलकुदमा खर्चालु बनिरहेको साउदी आलोचनाबाट भने मुक्त छैन। साउदी यसरी खेलकुदमा खर्च गरेर आफूमाथि लाग्ने गरेको मानवअधिकार उल्लंघनको घटनाबाट ध्यान सार्न चाहन्छ, आलोचकको यस्तै दाबी छ। लगानी अनुसारको प्रतिफल नपाइने गल्फमा साउदीले बेप्रवाह लगानी गर्नुले पनि यो दाबीलाई बल पुर्याउँछ।
विश्वमा खेलकुद मन पराउनेको संख्या धेरै भएकाले कम्तीमा उनीहरूको नजरमा आफ्नो छवि राम्रो बनाउन सकिन्छ भन्ने विश्वास साउदीको छ। उसो त साउदीको महँगो योजनाको अर्को उद्देश्य पनि छ। त्यो हो आफ्ना नागरिकलाई खेलकुदमा लाग्न प्रेरित गर्ने। शारिरीक क्रियाकलापममा ध्यान नदिने साउदी नागरिकमा हाल मोटोपना र मधुमेहको समस्या बढ्दो छ।
जे होस्, साउदी सम्भावित अनुबन्धनका कयौँ विदेशी स्टार खेलाडीसँग कुराकानीमा व्यस्त छ। उसै पनि अनियन्त्रित खेलाडी बजार साउदीका कारण झनै अस्तव्यस्त बन्ने देखिएको छ।
फुटबल मन पराइनेहरूको देश हो, साउदी। यहाँको फुटबल संस्कृति गहिरो छ। साउदी लिग खेल्ने हरेक क्लबको ‘फ्यानबेस’ छ। यसैकारण चार क्लबलाई प्राथमिकतामा राखेर ठूला स्टार अनुबन्ध गर्ने निर्णय सर्वप्रिय भने छैन। कुलीन समूहमा नपरेका १२ क्लब अहिलेबाटै सरकारी निर्णयप्रति निराशा व्यक्त गरिरहेका छन्।
सबैभन्दा बढी निराश कोही छ भने त्यो अल शबाब हो। जो साउदी राजधानी रियादको तेस्रो ठूलो क्लब हो। साउदी फुटबलमा अल शबाब आफ्ना दुई सहरी प्रतिद्वन्द्वी खल नासर र अल हिलाल तथा जेद्दाका अल इत्तिहाद र अल अह्लीको छायामा पर्दै आएको छ।
‘साउदी फुटबलमा बिग फोर एक भ्रम मात्र हो,’ गत सिजनको अन्त्यमा अल शबाबका अध्यक्ष खादिल अल बल्तानले भनेका थिए। उनको यो भनाइ अल अह्ली रेलिगेसनमा परेपछि आएको थियो। सन् १९९० को दशकमा अल शबाबले साउदी लिगमा दबदबा कायम गरेको थियो।
त्यसबेला अल शबाबमा फाउद अनवर अमिन र साइद अल ओवाइरन जस्ता घरेलु स्टार थिए। यिनकै बलमा साउदी विश्वकप १९९४ मा छनोट भएको थियो। पहिलो पटक विश्वकप खेलेको साउदी अन्तिम १६ सम्म पुग्यो। समूह चरणमा बेल्जियम र मोरोक्कोलाई हराएको साउदीले चार गोल गर्यो। चारमध्ये तीन गोल अनवर र ओवाइरनले गरेका थिए।
उत्तरी रियादको अल शबाबको रंगशाला हाल पुनः निर्माणको चरणमा छ। पुनः निर्माणको खर्च खेलकुद मन्त्रालयको जिम्मा छ। यद्यपि अल बल्तान आफ्नो क्लबले पर्याप्त सहयोग नपाइरहेको बताउँछन्। यसो भनिरहँदा उनी सरकार वा पीआईएफको सिधा आलोचना भने गर्दैनन्।
‘क्लबहरूबीचको खाडल बढिरहेको छ। सीमित स्रोत भएको हाम्रो जस्तो क्लब अरूसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन,’ गत साताको पत्रकार सम्मेलनमा अल बल्तान भन्दै थिए। अल बल्तानको निराशा जायज छ। किनभने रोनाल्डोको वार्षिक तलब नै अल शबाबको वार्षिक बजेटभन्दा चार गुणाले ठूलो छ।
‘के मैले आफ्नै बुताले अल शबाब र ती चार क्लबबीचको खाडल मेट्नु पर्ने हो? त्यसो गर्न म सक्छु? मसँग सामान्य जापानी कार छ तर मलाई ल्याम्बोरगिनी र फेरारी भएकाहरूसँग रेस गर्न भनिँदैछ? रेसमा म पछि परे भने मलाई नै दोष दिइन्छ, कस्तो तर्क हो यो?,’ अल बाल्तनको प्रश्न थियो।
न्युयोर्क टाइम्सको सहयोगमा