खप्तडमा आजदेखि आध्यात्मिक सम्मेलन

हिमाल प्रेस २३ जेठ २०८० ७:५५
10
SHARES
खप्तडमा आजदेखि आध्यात्मिक सम्मेलन फाइल तस्बिर।

धनगढी- भूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा मंगलबारदेखि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुँदैछ। तीन दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।

आयोजक समितिका सहसंयोजक एवं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले सम्मलेनको तयारी पूरा भएको जानकारी दिए।

सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण पनि सहभागी हुनेछन्। बालकृष्ण खप्तड पुगिसकेका छन्।

सम्मेलनको तयारीका लागि प्रदेशका मुख्यमन्त्री शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति र अन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ।
प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा पहिलो पटक यस्तो सम्मेलन हुन लागेको हो। समुद्री सतहबाट झन्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्या पर्यटन, आध्यात्मिक लगायतका दृष्टिले महत्त्वपूर्ण रहेको छ।

सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको संगम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए। यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिंग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन्। बहुमूल्य जडीबुटी पनि पाइन्छन् । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झन्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ।

आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले यो सम्मेलन हुन लागेको हो। सुदूरपश्चिम देवभूमि र तपोभूमिका रूपमा सदियौँदेखि परिचित पनि छ भन्ने सन्देश दिन पनि यो सम्मेलन गर्न लागिएको हो।

प्रकाशित: २३ जेठ २०८० ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =