काठमाडौँ- यौन दुर्व्यवहारको आरोपित कृषि वैज्ञानिक चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत खोटाङका न्यायाधीश सुभाषबाबु पुरीको इजलासले सोमबार थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो। उनलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको थियो।
राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क, (ग) (ङ) अन्तरगतको कसुर गरेको आरोप लागेको छ। राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययनरत बालिकाले बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।
यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले उनीसँग जेठ ३ गते बयान लिएका थिए। बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका छन्। उनले आफूले यौन शिक्षा दिएको दाबी बयानमा गरेका थिए। उनी दोषी हुन् या होइनन् भन्ने फैसा आदेशमा आउने अदालतले बताएको छ।