खानेपानीबाट वञ्चित पाँचथरको रानीगाउँ

हिमाल प्रेस २२ जेठ २०८० १८:२५
6
SHARES
खानेपानीबाट वञ्चित पाँचथरको रानीगाउँ प्रतिनिधिमूलक फाइल तस्बिर।

पाँचथर- कुम्मायक गाउँपालिका–४ तिल्केमा सरखण्डे–यासोक सडकको छेउमा स्थानीय खानेपानीको पाइपलाइनका लागि डोब खनिरहेका छन्। सरकारले ठूलो लगानी गरेर यासोक बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण गरेको छ। तर त्यसमा समस्या आएका कारण पानीको उपभोग गर्न नपाएका स्थानीयले स्वलगानीमा खानेपानीको व्यवस्था गर्न थालेका हुन्।

सुक्खाले प्रभावित यस क्षेत्रमा यासोक बृहत् पम्पिङ आयोजनाको पानी नियमित हुन नसक्दा स्थानीयसामु वैकल्पिक स्रोतको प्रबन्ध गर्नु अपरिहार्य बनेको छ। स्थानीय पूर्ण खजुमको गैरीखेतबाट पाइपलाइनमार्फत पानी ल्याउन स्थानीय पाइपलाइनको डोब खनिरहेका छन्। ‘यहाँका करिब ४० घरले पिउने पानी ल्याउन लागेका छौँ,’ स्थानीय हिमालचन्द्र सम्बाहाम्फेले भने, ‘यो पानी आहाले, तिल्के, माराम टोलका लागि छुट्टाछुट्टै भण्डारण गरेर पिउने योजना बनाएका छौँ।’

टन्टलापुर घाममा तीन दिनदेखि उनीहरू पाइपलाइनका लागि खनिरहेका छन्। ‘अब चार-पाँच दिन लाग्ला हामीलाई। अहिले घरको एकएक जना सहभागी भएका छौँ,’ पानीको मुहान रहेको जग्गाका धनी पूर्ण खजुमले भने।

यी स्थानमा नजिकै खानेपानीका कुनै स्रोत छैन। टाढाटाढा रहेका मुहान वा तमोरको पानीको भरमा स्थानीयले गुजारा चलाउनुपर्ने बाध्यता छ। खानेपानी विस्तारका लागि वडा कार्यालयले पनि सहयोग गर्ने भएको छ। कुम्मायक गाउँपालिका– ४ कार्यालयले १० लाख रुपैयाँको पाइप खरिद गरेको छ। पाइपलाइन विस्तार भइसकेपछि नापजाँच गरी पाइप वितरण गर्ने तयारी गरिएको पाइपलाइन विस्तारमा खटिइरहेका वडा सदस्य छविलाल खजुमले बताए।

यासोक बृहत् पम्पिङ खानेपानी आयोजनामार्फत २०७६ सालको माघदेखि खानेपानी वितरण थालिएको थियो। साविक यासोक, रानीगाउँ र स्यावरुम्बाका ३ हजार ४३ घरका लागि निर्माण थालिएको खानेपानी करिब २ हजार ३ सय घरमा वितरण थालिएको थियो।

बाँकी स्थानमा पाइपलाइन विस्तारमै ढिलाइ हुँदा पानीको दुख हुने गरेको छ। साविक रानीगाउँ गाविसको वडा नं १ का आहाले, तिल्के, मारामलगायत टोलमा पाइपलाइन विस्तार भएको झण्डै ३ वर्ष भयो। यहाँ सुरु–सुरुमा पानी आएको थियो। लामो पाइपलाइन भएका कारण यस क्षेत्रमा पानी अनियमित हुँदै गयो। रासस

प्रकाशित: २२ जेठ २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast