काठमाडौँ- भारतको उत्तरप्रदेशस्थित गोरखपुर मन्दिरबाट फिल्म ‘द अनब्रेकेबलः अगत्स्य’को छायांकन सुरु गरिएको छ। निर्माण टिमले गोखरपुर मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन सुरु गरेका हुन्।
६० दिनको कार्यतालिका रहेको फिल्मको छायांकन २५ दिन गोखरपुरमा र बाँकी समय नेपालको नवलपरासी, भैरहवा र काठमाडौँमा छायांकन गरिने निर्माण टिमले जनाएको छ।
दुई श्रृंखलामा बन्ने फिल्मको पहिलो श्रृंखलामा सौगात मल्ल, नाजिर हुसेन, मालिका महत, प्रमोद अग्रहरी, रविन्द्र झा र विजय बराललगायत कलाकारको अभिनय रहनेछ।
सौरभ चौधरीको लेखन र निर्देशन रहेको फिल्म संजय लामाले छायांकन गर्नेछन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका निर्माता प्रकाश मल्ल र अनिश तामाङ हुन्। फिल्मको शीर्षक हिन्दू धर्मका सप्तऋषिमध्येका अगत्स्य ऋषिको नामबाट जुराइएको हो।
निर्देशक चौधरीले यसअघि फिल्म ‘लभ डायरिज’ निर्देशन गरेका थिए।