म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका-३ र ४ को सीमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो।
लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा समावेश भए पनि पुल निर्माण अघि बढ्न सकेको थिएन। वार्षिक योजनामा समावेश हुन थालेको २ वर्षपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अदिभारा सडक पुल निर्माणको प्रक्रीया अघि बढाएको छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले स्रोत सुनिश्चितता र थप बजेटको व्यवस्थापन भएपछि पुल निर्माणको ठेक्का प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिए।
‘२५ मिटर लामो सडक पुलको डीपीआर ३ वर्षअघिनै बनेको थियो,’ उनले भने, ‘चालु आवमै कूल लागतको २० प्रतिशत पुग्ने गरी थप बजेट व्यवस्थापन र बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता भएको पत्र आएको छ। अब योजना कार्यान्वयनको प्रक्रिया अघि बढाउँछौँ।’
कूल ६ करोड ९ लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि अघिल्लो आव ०७८/७९ र चालु आव ०७९/८० मा५०/५० लाख विनियोजन भएको थियो।
कूल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट विनियोजन र स्रोत सुनिश्चितता भएका आयोजनाको मात्र ठेक्का लगाउन पाउने नीतिगत व्यवस्थाका कारण पुल निर्माणको काम अघि बढ्न सकेको थिएन।
चालु आवमा सो पुल निर्माणका लागि अपुग थप९१ लाख थप बजेट व्यवस्थापन गरेर अर्थ मन्त्रालयले हालै बहुवर्षीय योजनाका लागि स्रोत सुनिश्चितता गरी ठेक्का लगाउन सहमति दिएको हो। अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिका २ र ३ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो।
बर्खामा बाढी र नदीमा पानीको सतह बढ्दा यातायातको साधन सञ्चालन हुन सकेका थिएन। मालिका-३ का वडाध्यक्ष मोती बुढाले पुल बनेपछि बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताए।
यसैगरी प्रक्रियामै अल्झिएको बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-३ को सीमानास्थित अर्चेखोला मोटरेबल पुल र अन्नपूर्ण गाउँपालिकाको भुरुङ-पाउद्वार तातोपानी जोड्ने झोलंगे पुल निर्माणका लागि थप चालु आवमै थप बजेटको व्यवस्था गरेर ठेक्का आह्वान गर्ने तयारी भएको छ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले प्रदेशस्तरको बजेटको स्रोत सुनिश्चित समितिले २वटै योजनालाई स्रोत सुनिश्चितता र थप बजेट व्यवस्था गर्न अर्थमन्त्रालयमा सिफारिस गरिसकेको बताए।
‘योजनामा समावेश भए पनि स्रोत सुनिश्चितता र २० प्रतिशत बजेट नपुगेका योजनाको संख्या धेरैनै छ,’ उनले भने, ‘प्रदेशभर यस्ता आयोजना पहिचान गरेर तत्काल कार्यान्वयनमा लैजान पहल गरिएको छ।’
अर्चेखोलामा २५ मिटर लामो मोटरेबल पुल बनाउनचार करोड ९० लाख र १ सय २६ मिटर लामो भुरुङ-पाउद्वार तातोपानी झोलुंगे पुल बनाउन १ करोड ५६ लाख लागत अनुमान गरिएको थियो।
चालु आवभित्रनै ठेक्का आह्वान गर्न अर्चेखोलाको पुललाई थप ३० लाख र भुरुङ-पाउद्वार तातोपानी झोलुंगे पुललाई ९ लाख थप बजेट व्यवस्था गरी क्रमागत योजनामा समावेश गर्न अर्थ मन्त्रालयमा सिफारिस भएको हो। अर्थ मन्त्रालयले सिफारिस स्वीकृत गरेपछि ठेक्का प्रक्रिया सुरु गर्ने पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। -रासस