म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका-७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ। सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण-जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम मन्दिर निर्माण भएपछि ताकमकोत भ्रमण, पूजाआजा र अवलोकन गर्न आउनेको चहलपहल बढेको हो।
म्याग्दीका साथै पोखरा, बागलुङ, पर्वत, काठमाडौंलगायत देशका विभिन्न ठाउँबाट दैनिकजसो भक्तजन र पर्यटक आउन थालेका स्थानीयवासी लेक पुनले बताए।
‘ऐतिहासिक, धार्मिक महत्त्व तथा विशेषताको प्रचारप्रसारका साथै पूर्वाधार निर्माण भएसँगै केही वर्षअघिसम्म सुनशान ताकमकोतमा अहिले चहलपहल बढेको छ,’ उनले भने, ‘भक्तजन र पर्यटक नआएको दिन हुँदैन। बिदाको समयमा अझ बढी आउँछन्।’
स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट ३ वर्षअघि ८० लाख रुपैयाँ चन्दा जुटाएर कोतघर र अन्नपूर्ण-जगन्नाथ मन्दिरको पुनःनिर्माण भएको थियो।
१५ लाख रुपैयाँ खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मूर्ति राखिएको छ।
ताकमकोतमा भक्तजन र पर्यटकलाई आकर्षित गर्न हालै हनुमानको मूर्ति स्थापना र राम सीताको मन्दिर निर्माणलाई पूर्णता दिइएको छ। कोतघर परिसरमा टाढाबाट देखिने गरी हिमाल र पहाडलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्न मिल्ने गरी १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ।
धौलागिरि गाउँपालिका-७ ताकमका वडाध्यक्ष अशोक खत्रीले ठेकेदारले अलपत्र छाडेको राममन्दिर निर्माणलाई पूर्णता दिनुका साथै नजिकै हनुमानको मूर्ति स्थापना गरिएको जानकारी दिए। विभागले ४२ लाख रुपैयाँमा ठेक्कामार्फत निर्माण सुरु गरेको राम मन्दिर ३ वर्षदेखि अलपत्र परेको थियो।
‘हनुमानको मूर्ति स्थापना, राम सीताको मन्दिर निर्माणलाई पूर्णता, मूर्ति खरिद गर्दा३५ लाख खर्च भएको छ,’ उनले भने, ‘धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९/८० मा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको यो योजनाका लागि स्वदेश तथा विदेशमा रहेका दाताले सहयोग गरेका छन्।’
अमेरिकामा रहनुभएका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मूर्ति स्थापनाका लागि आर्थिक सहयोग संकलन गरिएको छ। दाताबाट२४ लाख ४० हजार सहयोग जुटेको छ। हनुमानको मूर्ति र राम मन्दिरको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमाल देखिन्छ। यसैगरी कोतमन्दिर परिसरमा ताकमका विकास केसी र आकाश केसीको पहलमा खत्री परिवारले प्रवेशद्वार निर्माण गरेका छ।
सोह्रौं शताब्दीमा निर्माण भएको ताकमकोत १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो। म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास रहेको ताकमका रुपक सुवेदीले बताए।
जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ। दैनिक पूजाआज हुन्छ। १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्त्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन्।
समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृंखलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्य अवलोकन गर्न सकिने ताकमका तेजेन्द्र थापाले बताए।
ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनाअनुसार कोतघर, अन्नपूर्ण-जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ। ताकमकोतको पूर्वाधार निर्माणमा धौलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिबएक करोड ५० लाख लगानी गरेका छन्।
गाउँपालिकाका अध्यक्ष प्रेम पुनले ताकमकोत पुग्ने सडकको स्तरोन्नति, पदमार्ग निर्माणलाई पूर्णता, घेराबार र स्लेट बिछ्याउने योजना रहेको जानकारी दिए। -रासस