प्रधानमन्त्रीको भारत भ्रमणलाई नकारात्मक प्रचार नगर्न गिरिराजमणिको आग्रह

हिमाल प्रेस २० जेठ २०८० ९:०२
6
SHARES
प्रधानमन्त्रीको भारत भ्रमणलाई नकारात्मक प्रचार नगर्न गिरिराजमणिको आग्रह

खोटाङ– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन्। पार्टी जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको २ दिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न्।

विकास र समाजको लोकतान्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रूपमा देखापरेको उल्लेख गर्दै उनले भ्रष्ट मानसिकताविरुद्ध सबैतिर संघर्ष गर्न जरुरी रहेको औंल्याए।

‘भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ। अहिले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम अगाडि बढाएको छ,’ पार्टी स्कुल विभाग प्रमुखसमेत रहेका उनले भने, ‘अरू क्षेत्रमा देखा परेका भ्रष्टाचारविरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। ‘प्रधानमन्त्रीको भ्रमणलाई धेरै हौसिने वा नकारात्मक ढंगले प्रस्तुत नगर्न म आग्रह गर्छु,’ उनले भने।

१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पार्टी तथा सरकार लागिपरेको उनको भनाइ छ। ‘पार्टीले अघि सारेको कार्यदिशा सफल पार्न उच्च, माध्यमिक र आधारभूत तह गरी ३ तहको पार्टी स्कुल कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने।

पार्टी स्कूल कार्यक्रमलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: २० जेठ २०८० ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast