काठमाडौँ- साउदी अरेबियाको मक्का तथा मदिनामा हजका लागि नेपालबाट जाने पहिलो समूह शुक्रबार बिहान साउदी अरेबियाको जेद्दा पुगेको छ। जेद्दा विमानस्थलमा पुगेको हजयात्रीको पहिलो समूहलाई साउदी अरेबियाका लागि नेपालका राजदूत नवराज सुवेदी तथा नेपाली महावाणिज्य दूतावास, जेद्दाका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेलले स्वागत गरेका थिए।
यस वर्ष नेपालका लागि जम्मा १२०० हजयात्रीको कोटा प्राप्त भएकोमा एक साताभित्र सम्पूर्ण हजयात्री जेद्दा हुँदै मक्का पुगिसक्नेछन्। मक्का तथा मदिनाको करिब ४५ दिनको हजयात्रा सम्पन्न गरी नेपाली हजयात्री स्वदेश फर्कनेछन्।
नेपालबाट जाने हजयात्रीको विमानस्थल, मक्का तथा मदिनामा विभिन्न प्रकारका सहजीकरणका कार्य जेद्दास्थित नेपाली महावणिज्यदूतावासले गर्दै आइरहेको छ। यस वर्ष संसारभरिबाट करिब २५ लाखले हजयात्रा गर्नेछन्।