काठमाडौँ- चीन र भारतबीचको प्रतिद्वन्द्विताबारे विश्व बेखबर छैन। पछिल्लो समय यो प्रतिद्वन्द्विता झन् कसिलो बन्दै गइरहेको छ। सीमानामा झडपदेखि अन्तर्राष्ट्रिय राजनीतिमा एकअर्काविरुद्ध उभिने, यी सबै कुरा भइरहेकै थिए। अब भने यी दुई देशले पत्रकारलाई समेत भिसा समेत दिन बन्द गरेका छन्।
यसो भएपछि चिनियाँ सञ्चारमाध्यमको भारतमा र भारतीय सञ्चारमाध्यमको चीनमा पहुँच नहुने भएको छ। गत मे महिनामा नयाँ दिल्लीले चीनका दुई सञ्चारमाध्यमका पत्रकारहरुको भिसा नवीकरण नगरेको अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख छ। ती दुई पत्रकार सिन्ह्वा समाचार एजेन्सी र केन्द्रिय टलिभिजन (सीसीटीभी) का भएको बताइएको छ। जो भारतमा रही रिपोर्टिङ गर्ने अन्तिम दुई चिनियाँ पत्रकार थिए।
पत्रकारलाई भिसा भारतले मात्र नदिएको होइन। सन् २०२३ को सुरुवातमा चीनले भारतीय पत्रकारको भिसा नवीकरण गरेको थिएन। त्यसबेला भारतका चार पत्रकार चीनमा थिए। तीमध्ये भारत गएका दुईलाई चीन फर्कन दिइएन भने अर्का एकको अनुमति (एक्रिडिटेसन) खारेज गरिएको जानकारी दिइयो।
आफ्नो देशका पत्रकारलाई चीनले प्रवेश गर्न नदिएपछि भारतले प्रतिक्रियात्मक कदम चालेको बताइन्छ। चिनियाँ पत्रकारको भिसा नथपिएकोबारे भारतीय विदेश मन्त्रालयका प्रवक्तालाई शुक्रबार सोधिएको थियो। जसमा प्रवक्ता अरिन्दम बाग्चीको जवाफ थियो, ‘हरेक देशका पत्रकारलाई भारतमा रही पत्रकारिता गर्न छुट छ। चिनियाँलाई पनि छ। तर भारतमा रहँदा विदेशी पत्रकार आफ्नो मर्यादामा रहनुपर्छ।’
बाग्चीले चीनमा भारतीय पत्रकारले कठिनाई भोगिरहेको पनि बताए। ‘चीनमा भारतीय पत्रकारले दुःख पाइरहेका छन्। उनीहरुलाई स्थानीय पत्रकार वा अनुवादकको सहयोग माग्न बन्देज गरिएको छ। भारतीय सञ्चारमाध्यमसँग त्यहाँका स्थानीय कुनै भूमिकामा आबद्ध हुन पाइरहेका छैनन्,’ बाग्चीले भनेका छन्, ‘भारतीय पत्रकार रिपोर्टिङका लागि आफूले भनेको ठाउँमा जान सकिरहेका छैनन्। आशा छ चीनले भारतीय पत्रकारलाई स्वतन्त्रपूर्वक काम गर्न दिनेछ।’
गत बुधबार चीनले आफूले भारतीय कदमको जवाफ दिएको बताएको थियो। वाल स्ट्रिट जर्नलमा आएको समाचारबारे चीनको धारण सोधिँदा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङको जवाफ थियो, ‘लामो समयदेखि भारतले चिनियाँ पत्रकारलाई अनुचित व्यवहार गर्दै आएको छ। सन् २०१७ मा भारतले चिनियाँ पत्रकारको भिसा अवधि घटाएर तीन वा एक महिनामा झारिदिएको थियो। त्यहाँ हाम्रो एक पत्रकार बाँकी थिए। अब उनको पनि भिसा सकियो। भारतको यस्तो रबैयाको जवाफ दिनैपर्ने थियो। हामीले त्यही गरेको हो।’
माओले चीनमा भारतीय पत्रकार रहने वा नरहने भन्ने विषय भारत सरकारको गतिविधिमा निर्भर हुने पनि बताइन्। ‘केही भारतीय पत्रकार यस्ता छन्, जो चीनमा १० वर्षदेखि बसिरहेका छन्। हामी उनीहरुको भिसा अवधि बढाउन चाहन्छौँ। तर हाम्रो चाहना भारतीय व्यवहारमा निर्भर रहन्छ। भारतले चिनियाँ पत्रकारलाई कस्तो व्यवहार गर्छ, हाम्रो कदम त्यसबाट निर्देशित रहनेछ,’ माओको भनाइ थियो।
भूराजनीति जटिल बन्दै गइरहेपछि चीन लगायतका देशले विदेशी पत्रकारको भिसा रद्द गर्ने, नवीकरण नगर्ने, नयाँ भिसा जारी नगर्ने आदि अभ्यास गरिरहेका छन्। सन् २०२० को सुरुवातमा चीनले एक दर्जनभन्दा बढी अमेरिकी पत्रकारलाई देश निकाला गरेको थियो। केही पत्रकार वाल स्ट्रिट जर्नलका पनि थिए। जवाफमा अमेरिकाले चिनियाँ पत्रकारलाई दिने एक्रिडिटेसनको संख्या घटाएको थियो। त्यही वर्ष अस्ट्रेलियाली पत्रकारहरुले चीन छाडेका थिए।
भिसा नवीकरण नभएपछि भारतमा रहेका अन्तिम दुई चिनियाँ पत्रकार बेइजिङ फर्किइसकेको बताइन्छ। अब सम्भवतः भारतमा कोही चिनियाँ पत्रकार बाँकी छैनन्। यस्तो स्थिति सन् १९८० को दशकपछि पहिलो पटक देखा परेको हो।
जसरी भारत चिनियाँ पत्रकारप्रति अनुदार देखिएको छ, त्यही किसिमको व्यवहार चीनले भारतीय पत्रकारसँग गरिरहेको छ। गत अप्रिलमा भारतको ठूलामध्येको एक अखबार द हिन्दु र सरकारी सञ्चारमाध्यम प्रसार भारतीका पत्रकारलाई चीन प्रवेशमा रोक लगाइएको थियो। अर्को अखबार हिन्दुस्तान टाइम्सका पत्रकारलाई एक्रिडिटेसन रद्द गरिन लागिएको जानकारी दिइएको थियो।
सन् २०१६ मा भारतले सिन्ह्वाका तीन पत्रकारको भिसा नवीकरण गर्न इन्कार गरेको थियो। गत डिसेम्बरमा त झन् चिनियाँ सरकारी टेलिभिजनको एक पत्रकारलाई १० दिनभित्र भारत छाड्न भनिएको थियो। चिनियाँ पक्षका अनुसार ती पत्रकारलाई कुनै कारण नबताई भारत छाड्न लगाइएको थियो।
जुन, २०२० मा सीमानामा भएको झडपका कारण बिग्रिएको दुई देशको सम्बन्ध पत्रकारलाई भिसा नदिने सिलसिलाले झन् खराब हुने देखिएको छ।