 तस्बिर स्रोत : यूएनएफपीए नेपाल
                             तस्बिर स्रोत : यूएनएफपीए नेपाल
                                            काठमाडौँ- अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठान (आईएफपीआरआई) ले नेपाललगायत दक्षिण एसियाली क्षेत्रमा खाद्य असुरक्षा र कुपोषण बढेको प्रतिवेदन सार्वजनिक गरेको छ।
एकीकृत विकास अध्ययन केन्द्र (आईआईडीएस), भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) लगायतको सहयोगमा आईएफपीआरआइले तयार पारेको प्रतिवेदनअनुसार दक्षिण एसियाली क्षेत्रमा कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको हो।
ग्लोबल फुड पोलिसी रिपोर्ट, २०२३ ले सन् २०१९ देखि २०२१ सम्ममा नेपालमा ६ प्रतिशत जनसंख्या कुपोषणबाट ग्रसित भएको उल्लेख गरेको छ। १३ प्रतिशत जनसंख्या गम्भीर खाद्य असुरक्षामा परेको पनि रिपोर्टमा उल्लेख छ।
अफगानिस्तानमा ३० प्रतिशत, बंगलादेशमा १२ प्रतिशत, भारतमा १६ प्रतिशत, पाकिस्तानमा १७ प्रतिशत र श्रीलंकामा ४ प्रतिशत व्यक्तिमा कुपोषण रहेको प्रतिवेदनमा उल्लेख छ। गम्भीर खाद्य असुरक्षामा अफगानिस्तानका २३ प्रतिशत, बंगलादेशका ११, पाकिस्तानका ८ र श्रीलंकाका २ प्रतिशत व्यक्ति छन्। सन् २०१७ देखि १९ को अवधिमा नेपालमा खाद्य असुरक्षा भोगिरहेको जनसंख्या १० प्रतिशत थियो।
प्रतिवेदनले दक्षिण एसियाको आर्थिक र सामाजिक अवस्था पछिल्लो दुई दशकयताकै खराब अवस्थामा पुगेको जनाएको छ। कोभिड-१९ महामारी, रुस–युक्रेन युद्ध, प्राकृतिक प्रकोप, ऊर्जा संकट, पेट्रोलियम पदार्थ र रासायनिक मलको मूल्यवृद्धि, राजनीतिक अस्थिरतालगायत कारण दक्षिण एसियाली क्षेत्रमा खाद्य असुरक्षा बढेको प्रतिवेदनमा उल्लेख छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 