 
                             
                                            काठमाडौँ- सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीनमध्ये दुई कर्मचारीको शव फेला परेको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टर सुवास थापाको कमान्डको गोताखोरले आज (मंगलबार)साँझ ६:१५ बजे दुई जनाको शव र जिप फेला पारेको हो। दुई जनाको शव जिप भित्रै रहेको अवस्थामा फेला परेको हो। शवसहितको जिप दुर्घटनास्थलबाट दुई सय मिटर तल २५ मिटरको गहिराइमा फेला परेको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार फेला परेका शवको पहिचान हुन सकेको छैन।
सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरकको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए। चालक कृष्ण चौधरी घाइते अवस्थामा पौडिएर बाँचेका थिए।
दुवैतर्फबाट सुनकोशीलाई छेकेर अब एउटा भँगालो थुनेपछि पूरै पानी रामेछापबाट बहने र बेपत्ताहरूको खोजी गर्न सहज हुने खोजी गोताखोर केशव महतले जानकारी दिए।
चारवटा स्काभेटर, तीनवटा जेसिबी, डोजर, पाँचवटा टिपर र ट्र्याक्टर लगाएर पानीका बहाव अर्कोतर्फबाट फर्काएर खोजी गरिएको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 