फाइल तस्बिर
काठमाडौँ- नेपालले तीन नयाँ अनुहारलाई समेट्दै साफ च्याम्पियनसिप २०२३ का लागि २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ। फुलब्याक सिमान्त थापा, सेन्ट्रल डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बु पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्।
यसपालिको साफ च्याम्पियनसिप दक्षिण भारतको बेंगलोरमा असार ६ देखि १८ गतेसम्म हुँदैछ। गत चैतमा काठमाडाैँमा भएकाे थ्री-नेसन्स कपबाट नेपालसँगकाे प्रशिक्षण यात्रा सुरु गरेका गरेका भिन्सेन्जाे अल्बर्टाे एनिसका लागि साफ च्याम्पियनसिप मुख्य परीक्षा हाे। जसका लागि उनले युवा खेलाडी बाहुल्य टिम बनाएका छन्।
एनिसले अनुभवी गोलरक्षक किरणकुमार लिम्बुसँगै मनाङ मर्स्याङ्दी क्लबका दीप कार्की र मछिन्द्र फुटबल क्लबका विशाल श्रेष्ठलाई टिममा समटेका छन्। दीप र विशाल दुवै आआफ्ना क्लबका कप्तान हुन्।
सहिद स्मारक ए डिभिजन लिगमा दीप र विशालले आठ-आठ खेलमा क्लिनसिट राखेका छन्। लिगमा सर्वाधिक खेलमा क्लिनसिट राख्ने गोलरक्षक चर्च ब्वाइज युनाइटेडका यभेस प्रिसो हुन्। उनले १० खेलमा गोल खाएका छैनन्। उता किरण भने दुई महिनाअघि सकिएको भारतीय दोस्रो श्रेणीको लिग आई–लिगमा उत्कृष्ट गोलरक्षक चुनिएका थिए।
एनिसले रक्षापंक्तिमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजका कप्तान अनन्त तामाङ र उपविजेता बन्ने पक्का भइसकेको मछिन्द्रका देवेन्द्र तामाङलाई निरन्तरता दिएका छन्। अनन्त र देवेन्द्र लेफ्ट सेन्ट्रल डिफेन्डर हुन्।
यी दुईसँगै उपकप्तान रोहित चन्द, संकटा क्लबका लेफ्टब्याक निशान्त खड्का र एपीएफ क्लबका राइटब्याक सनिस श्रेष्ठलाई पनि समावेश गरिएको छ। नयाँ अनुहार विमल र सिमान्त पनि रक्षापंक्तिकै हिस्सा हुन्। रोहितसँगै विमल राइट सेन्ट्रल डिफेन्डर हुन् भने जावलाखेल युथ क्लबका कप्तान सिमान्त राइटब्याक हुन्।
मिडफिल्डमा एपीएफका तीन खेलाडी परेका छन्। ती खेलाडी नवीन लामा, मणिकुमार लामा र आभाष लामिछाने हुन्। त्यसैगरी पुजन उपरकोटी, एरिक विष्ट र लाकेन लिम्बु मिडफिल्डका अरु सदस्य हुन्। मणिले लाओस (चैत, २०७९) र आभाषले पाकिस्तान (कात्तिक, २०७९) सँगको खेलबाट डेब्यु गरेका थिए।
अग्रपंक्तिमा सात खेलाडी राखिएको छ। टिममा समावेश गरिएका नवयुग श्रेष्ठ र दीपराज सिंह ठकुरी सेन्ट्रल फरवार्ड हुन् भने बाँकी वाइड फरवार्ड छन्। आयुष घलान र आशिष चौधरी लेफ्ट फरवार्ड हुन् भने अन्जन विष्ट र मनिष डाँगी राइट विंगमा खेल्छन्। आशिषले बंगलादेशसँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए।
साफ च्याम्पियनसिपमा यसपल्ट आठ टिम सहभाी हुनेछन्। तिनलाई दुई समूहमा विभाजन गरिएको छ। जसमध्ये नेपाल समूह ‘ए’ मा परेको छ। समूह चरणमा नेपालले आठ पटकको च्याम्पियन भारत, पाकिस्तान र आगन्तुक कुवेतको सामना गर्नेछ। समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्। कुवेतसँगै लेबनान पनि आगन्तुक टिम हो।
विगतमा जस्तै यसपालि पनि दुई समूहका विजेता र उपविजतेता गरी चार टिमले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन्। नेपाल गत संस्करणमा फाइनलसम्म पुगेको थियो। मल्दिभ्सको मालेमा भएको फाइनलमा नेपाललाई भारतले हराएको थियो। नेपाल हालसम्म एकपल्ट मात्र फाइनल पुगेको छ।
साफ च्याम्पियनसिपका लागि घोषित नेपाली टिमः
किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ लेफ्ट, देवेन्द्र तामाङ लेफ्ट, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा, पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने, आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर



