शिक्षा मन्त्रालयमा विद्यालय कर्मचारीको वार्ता हुने

हिमाल प्रेस ३ असार २०८० १४:०७ | Sunday, June 18, 2023
शिक्षा मन्त्रालयमा विद्यालय कर्मचारीको वार्ता हुने

काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा बोलाएपछि विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालिन विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ। परिषद्ले आन्दोलनका कार्यक्रम स्थगित गरेर सरकारसँग वार्तामा बस्ने निर्णय गरेको हो।

परिषद्ले आन्दोलन स्थगन गरेर आइतबार २ बजे वार्तामा बस्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको अध्यक्षतामा ४ सदस्यीय वार्ता टोली गठन गरेको छ। वार्ता टोलीमा अर्थ, शिक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सदस्य छन्।

परिषद्ले सरकारले वार्तामा आउन गरेको आग्रह र भावनालाई सम्मान गर्दै विगतमा भएको सहमति र सर्वोच्च अदालतको आदेशको पालना गराउने गरी वार्तामा बस्न तयार भएको जनाएको छ। विद्यालयका कर्मचारीले आइतबार मुलुकभरका सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए। काठमाडौँ महानगरपालिकाले भने विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको थियो।

विद्यालयका कर्मचारीले सम्मानजनक पारिश्रमिक पाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। सरकारले नीति तथा कार्यक्रममा उनीहरूका माग सम्बोधन गर्ने भनेपनि आर्थिक बर्ष २०८०/८१ को बजेटमा भने विद्यालय कर्मचारीको विषय समावेश गरिएको थिएन।
सरकारले माग पुरा नगरे पुनः आन्दोलनका कार्यक्रम जारी राख्ने विद्यालयका कर्मचारीले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित: ३ असार २०८० १४:०७ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast