काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सशक्त भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्। राष्ट्रहितविपरितका काम हुन नदिन संसद्मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताएका हुन्।
शनिबार काठमाडौँमा रास्वपा अर्घाखाँची-काठमाडौँ सम्पर्क भेलामा लामिछानेले संसद्मा आफ्नो पार्टीका २१ जना सांसद भए पनि राष्ट्रहितविपरितका काम हुन नदिन सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न पर्याप्त भएको बताए।
सरकारका राम्रा कामको समर्थन गर्दै देशहितविपरितको कार्यलाई खबरदारी गरिरहने उनको भनाइ थियो। रास्वपालाई जनताले दिएको म्यान्डेड कार्यान्वयन गर्न चौतर्फी रोक्ने काम भइरहेको लामिछानेले बताए।
२०८४ को निर्वाचनमा रास्वपालाई जित हासिल गर्ने सहज बाटो जनताले देखाए पनि त्यो बाटोसम्म पुग्न घेराबन्दी गर्ने काम भइरहेको उनको भनाइ थियो। सभापति लामिछानेले नागरिकता विधेयकको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदा रास्वपा नै नागरिकताको विरोधमा रहेको भन्दै भ्रम छर्ने काम गरिएको बताए। नागरिकले नागरिकता पाउनुपर्नेमा कुनै दुविधा नरहेको उनले बताए।
कार्यक्रममा रास्वपा सांसद् डा. स्वर्णीम वाग्लेले जनताको जनजिविकालगायत सुशासनका मुद्दामा रास्वपाले आवश्यक पहलकदमी लिने बताए। नागरिकको भरोसालाई जगेर्ना गर्दै पार्टीलाई जनताको मुद्दामा केन्द्रित गर्ने उनको भनाइ थियो।

                                             
                                             
                                             
                                             
                                             
                                             

