विश्वकप छनोट : करणले चार विकेट लिँदा अमेरिका २०७ रनमा समेटियो

हिमाल प्रेस ५ असार २०८० १६:५० | Tuesday, June 20, 2023
विश्वकप छनोट : करणले चार विकेट लिँदा अमेरिका २०७ रनमा समेटियो

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाबाट २०८ रनको लक्ष्य पाएको छ। जिम्बाबेको टाकासिंहा स्पोर्ट्स क्लबको मैदानमा मंगलबार अमेरिकाले सामान्य योगफल बनाउँदा शायान जाहानगिरले शतक प्रहार गरे।

मध्यक्रमका जाहानगिरले ७९ बलमा १ सय रन बनाए। २२ औँ ओभरमा ६५/५ को स्थितिमा रहेको अमेरिकाको इनिङ्स यिनै जाहानगिरले उकासे। चार ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन जोड्दा अमेरिका ४९ ओभरमा २०९ रनमा सीमित भयो।

पहिलो खेलमा जिम्बाबेसँग हारेको नेपालले अमेरिकाविरुद्ध बलियो सुरुवात गरेको थियो। टस हारेर बलिङ गरेको नेपालले १० ओभर सकिँदा अमेरिकालाई १९ रनमा सीमित गरेको थियो। सुरुका चारै विकेट करण केसीले लिएका थिए।

ओपनर स्टिभन टेयलर चार र साइटेजा मुकुमल्ला शून्य रनमा करणको बलमा आउट भएका थिए। अर्का ओपनर शुसान्त मोदानी ४२ रन बनाएको स्थितिमा करणकै बलिङको सिकार बने। कप्तान आरोन जोन्सलाई दुई रनमा समेटेका करणले कुल ३३ रन खर्चिए।

करणसँगै चम्किने अर्का बलर गुल्शन झा रहे। उनको नाममा तीन विकेट रह्यो। उनले निशराग पटेल, सौरभ नेत्रभाल्कर र कायल फिलिपलाई आउट गरे। निशरागले आठ र नेत्रभाल्करले चार रन बनाए भने कायलले रनको खाता खोल्न सकेनन्। नेत्रभाल्कर र फिलिप ४९ औँ ओभरमा आउट भएका थिए। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई तथा ललित राजवंशीले एक विकेट थपे।

उपल्लो क्रम र मध्यक्रममा लगातार विकेट गुमाए पनि अमेरिकाले पछिल्लो नौ ओभरमा बलियो ब्याटिङ गर्‍यो। जहानगिर एक्लैले ५३ रन जोड्दा अमेरिका १४३ बाट २०८ रनको स्थितिमा पुग्यो।

प्रकाशित: ५ असार २०८० १६:५० | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast