 जीवित उद्धार गरिएका चारमध्येका एक जना सेनासँग। तस्बिरः एएफपी
                             जीवित उद्धार गरिएका चारमध्येका एक जना सेनासँग। तस्बिरः एएफपी
                                            बोगोटा- जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ। जसको भाग्यमा मृत्यु निर्धारित छ त्यसलाई बचाउन सकिँदैन। जसलाई जीवन जिउने समय दिइएको छ उसलाई कालले पनि केही गर्न सक्दैन।
यस्तै चमकत्कार भएको छ कोलम्बियामा। देशको राष्ट्रिय सेनाले ४० दिनअघि सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको जीवितै उद्धार गरेको छ। कोलम्बियाका अधिकारीका अनुसार उनीहरूले देशको अमेजन जंगलबाट १३, ९, ४ र १ वर्षका बालबालिकाका् गएराति उद्धार गरेका छन्।
सान होसे डेल ग्वाभियर सहरतर्फ गइरहेको सानो सेस्ना २०६ विमान अराराकुरा जंगलमा दुर्घटना हुँदा विमानका चालक र ती बालबालिकाका आमा र एक जना स्थानीय आदिवासी नेताको मृत्यु भएको थियो। घटनास्थलमा उनीहरूका शव भेटिएका थिए तर विमानमा सवार ती बालबालिका हराइरहेका थिए।
विमान जंगलका रुखमा वृक्षझै ठडिएको अवस्थामा भेटिएको थियो। अधिकारीका अनुसार सशस्त्र समूहको धम्कीका कारण भागेका उनीहरू विमान दुर्घटनामा परेका हुन्।
दुर्घटनापछि हराएका बालबालिकाको खोजी गर्न कोलम्बिया सरकारले १ सय ६० जना सिपाही र जंगल क्षेत्रको सम्पूर्ण जानकारी भएको ७० जना आदिवासी जनजाति सम्मिलित एक टोली परिचालन गरेर खोजी प्रारम्भ गरेको थियो, जसले विश्व समुदायको ध्यान आकर्षित गरेको थियो।
उक्त जंगल हिंस्रक जनावर, विषालु सर्प र सशस्त्र लागूऔषध तस्कर समूहको आधार इलाका मानिन्छ। वायुसेनाले १० हजारभन्दा बढी पर्चा स्पेनिस र बालबालिकाको आफ्नै आदिवासी भाषामा छापेर जंगलमा फ्याँकेको थियो जसमा उनीहरूलाई कतै नजान अनुरोध गरिएको थियो।
ती पर्चामा भयावह त्यस जंगलमा कसरी बाँच्ने भन्नेबारे सुझाव पनि उल्लेख थिए। खानाका थैला र पानीका बोतल पनि खसालिएका थिए। साथै उद्धारकर्ताले बालबालिकाकी हजुरआमाले रेकर्ड गरेको सन्देश पनि ‘लाउड स्पिकर’बाट बजाउँदै उनीहरूलाई कतै नजान आग्रह गरेका थिए। अन्ततः ती बालबालिका दुर्घटनास्थलबाट करिब पाँच किलोमिटर पश्चिममा फेला परे। रासस/एएफपी

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 