 
                             
                                            काठमाडौँ- सन्राइज बैंकले विभिन्न विद्यालयलाई ‘प्याड एटीएम’ हस्तान्तरण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयलाई उक्त सहयोग गरेको हो।
बैंकले महिला स्वास्थ्य र महिला सशक्तीकरणका लागि विद्यालयमा अध्ययनरत छात्रा तथा कार्यरत महिलालाई लक्षित गरी प्याड एटीएम हस्तान्तरण गरेको हो। विद्यालयमा व्यवस्थित शौचालय र स्यानिटरी प्याडको व्यवस्था नहुँदा छात्रा तथा महिला विद्यालय जान हिचकिचाउने गरेको भन्दै बैंकले सहयोग गरिएको बताएको छ।
बैंकले विभिन्न विद्यालयहरूमा ‘अटोमेटेड प्याड भेन्डिङ मेसिन’ उपलब्ध गराएको बैंकको भनाइ छ। ‘एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअपसहितको उक्त मेसिनले छात्राहरू तथा विद्यालयमा कार्यरत महिलालाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिनेछ,’ बैंकले भनेको छ।
बैंकले काठमाडौँको लैनचौरमा रहेको शान्ति विद्यागृह माध्यमिक विद्यालय र प्याड एटीमएम र प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ। बैंकका सहायक महाप्रबन्धक हरिप्रसाद आचार्यले, सीआरएस प्रमुख सुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका हुन्।
त्यस्तै बैंकले ललितपुरको एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयलाई पनि उक्त एटीएम र मेसिन हस्तान्तरण गरिएको बताएको छ। यसअघि बैंकले मोलुङ, किन्जा, डुम्रे, देउराली, बाग्लुङ, वालिङ, कावासोती, बर्दिवास, तेह्रथुम, विरेन्द्रनगरलगायत ठाउँहरूमा उक्त मसिनहरू हस्तान्तरण गरेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 