विद्युत्‌गृह बाढीले बगाएपछि अन्धकार याम्फुदिन

हिमाल प्रेस २ असार २०८० २०:२५ | Saturday, June 17, 2023
विद्युत्‌गृह बाढीले बगाएपछि अन्धकार याम्फुदिन ताप्लेजुङको सिरिजंगा गाउँपालिका–८ याम्फुदीनस्थित खोलामा शुक्रबार गएको बाढी।

ताप्लेजुङ- वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्वीक्षेत्रमा पर्ने सिरिजंगा गाउँपालिका–८ याम्फुदीनको विद्युत्‌गृह बगाएपछि गाउँ अन्धकार भएको छ। शुक्रबार राति परेको वर्षासँगै बाढीले दुई विद्युत्‌गृह बगाएपछि याम्फुदीन पूरै अन्धकार भएको हो।

तुम्या खोलाबाट निकालिएको ८ किलोवाट क्षमताको पावरहाउस (विद्युत्‌गृह) बाढीले पूरै बगाएको सिरिजंगा गाउँपालिका–८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताए। गुरुङका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको विद्युत्गृहमा समेत क्षति पुगेकाले अहिलेमा बिजुली छैन।

सिरिजंगा गाउँपालिका–८ गाउँलाई याम्फुदीन भनेर चिनिन्छ। यस गाउँमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन्। दुई विद्युत्गृहमा उत्पादन बिजुलीबाट याम्फुदीन उज्यालो भएको थियो।

गत शुक्रबार दुइटै विद्युत्गृह बाढीले बगाएपछि गाउँ अन्धकार बनेको याम्फुदीन प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार विनोद उरावले बताए। विद्युत्गृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयले गुनासो गरेका छन्।

विद्युत्कै अभाव भएपछि नेपाल टेलिकमको टावरसमेत बन्द हुने अवस्थामा पुकेको वडाध्यक्ष गुरुङले बताए। याम्फुदीनमा रहेको पाँच कार्यालय र पाँच घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। काबेली खोलामा वर्षासँगै आएको बाढीले उच्च जोखिम रहेको कार्यालय र घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

सिरिजंगा गाउँपालिका–८ को वडा कार्यालय, प्रहरी चौकी, स्वास्थ्यचौकी, विद्यालय र कञ्चनजंगा संरक्षण क्षेत्रको कार्यालय सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्। त्यस्तै उच्च जोखिममा रहेका पाँच घरपारिवारलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले जानकारी दिइन्। रासस

प्रकाशित: २ असार २०८० २०:२५ | Saturday, June 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast