 
                             
                                            काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालयका कर्मचारीको सुविधा बढाउन पहल गर्ने आश्वासन दिएका छन्। शिक्षक नेताहरूसँग मंगलबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले यस्तो आश्वासन दिएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
शिक्षक नेताहरूले प्रधानमन्त्रीसँग विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए। यस्तै संघीय शिक्षा ऐन यथाशीघ्र जारी गराउने विषयमा पनि शिक्षक नेताहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सुवेदीले भने, ‘प्रधानमन्त्री दाहालले विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्न पहल गर्ने आश्वासन दिनुभएको छ।’ भेटमा महासंघका अध्यक्ष कमला तुलाधर, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी, एकीकृत अनेशि संगठनका अध्यक्ष शंकर अधिकारी र रेशमीलाल चपाईं थिए।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको १२७ बुँदामा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका सेवासुविधा सम्बोधन गरिने उल्लेख भए पनि उक्त प्रावधान बजेटमा नसमेटिएपछि विद्यालय कर्मचारी आन्दोलित भएका छन्। श्रम शोषण अन्त्य हुनुपर्ने, नीति तथा कार्यक्रममा रहेको १२७ बुँदा कार्यान्वयन हुनुपर्ने, संघीय शिक्षा ऐन तत्काल लागू हुनुपर्ने माग उनीहरूको छ।
कर्मचारीहरूले जेठ २१ गतेदेखि ७७ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना दिएका थिए भने आइतबार काठमाडौँमा थाल ठटाएर प्रदर्शन गरेका थिए। असार १ गतेसम्म काठमाडौँको भद्रकालीमा रिले अनशन बस्ने र असार २ गतेदेखि माग सम्बोधन नहुन्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरिने घोषणा परिषद्को छ। कर्मचारीले बन्दजस्ता कार्यक्रम सार्वजनिक गरेपछि शिक्षक नेताहरू पनि माग पूरा गराउन सक्रिए भएका हुन्।
यसअघि परिषद्को टोलीले बजेटमा शिक्षकका समस्या सम्बोधन गर्न माग गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका थियो। न्यून पारिश्रमिकमा काम गर्नुपरेको अवस्थालाई बढ्दो महँगीअनुसार बजेटमार्फत सम्बोधन गर्नुपर्ने माग उनीहरूको छ। उनीहरूको मागमा नेपाल शिक्षक महासंघले पनि ऐक्यबद्धता जनाउँदै आएको छ। यसैगरी संघीय संसद् बैठकमा पनि उनीहरूको मागका सम्बन्धमा आवाज उठ्दै आएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 