 
                             
                                            पोखरा– पोखरामा बुधबारदेखि हिमालयन साइन्स फेस्टिभल सुरु भएको छ। नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा दुई दिनसम्म चल्ने फेस्टिभलमा विभिन्न ३५ स्टल राखिएका छन्। फेस्टिभल उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनका साथै नयाँ नयाँ प्रविधि विकासमा यसखालका महोत्सवले निकै महत्व राख्ने बताए। उनले आजका बालबालिकाका भविष्यमा वैज्ञानिक समेत बन्ने भएकोले यस दिशामा प्रेरित गर्न महत्व राख्ने बताए।
शिक्षा विकास तथा समन्वय केन्द्र कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा फेस्टिभल महत्वपूर्ण रहेको बताए। उनले यसखालका फेस्टिभल आगामी दिनमा पनि नियमित हुन् भनी अपेक्षा गरे। हिसान कास्की अध्यक्ष यामबहादुर रोकाले विद्यार्थीलाई योसँगै विभिन्न क्षमता विकासमा अवसर दिनुपर्नेमा जोड दिए।
प्याब्सन कास्की अध्यक्ष मधुरा पौडेलले सबैको कुरा सुन्ने विद्यार्थी हुन् भन्दै अब विद्यार्थीको कुरा हामीहरूले सुन्नुपर्ने बताए। आयोजक हिमालयन साइन्स फाउण्डेसनका अध्यक्ष आतंक बस्नेतले आफूहरूको विज्ञान अभियानमा सरोकारवाला निकायको सहकार्यमा देशका हरेक प्रदेशमा फेस्टिभल आयोजना गर्ने बताए। उनका अनुसार साइन्स फेस्टिभल यसअघि लुम्बिनी प्रदेशको नेपालगञ्जमा भइसकेको छ।
विज्ञान शिक्षक समाज नेपालको सहआयोजनामा भएको फेस्टिभलले विद्यार्थीको वैज्ञानिक धारणा र नवप्रवर्तकमा टेवा पुर्याउने मूल उद्देश्य रहेको समाजका गण्डकी प्रदेश संयोजक राजकुमार ढकालले बताए। उनका अनुसार फेस्टिभलमा प्रदेशका निजी तथा सामुदायिक गरी २२ विद्यालयले भाग लिएका छन्। कतिपयले विद्यालयले एक वा सोभन्दा बढी वैज्ञानिक प्रदर्शनी प्रतियोगितात्मक रुपमा राखेका छन् भने अन्य केही संस्थाको प्रदर्शनीमात्र छ।
पहिलो हुनेलाई ३० हजार, दोस्रोलाई २५ हजार, तेस्रोलाई २० हजार र सान्त्वना ४ टिमलाई ६/६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। फेस्टिभलको समापनमा विज्ञान शिक्षक समाज नेपाल गण्डकी प्रदेश संयोजक राजकुमार ढकाललाई उत्कृष्ट शिक्षकको रुपमा सम्मानित गरिने समाजका उपाध्यक्ष सुदीप आचार्यले बताए। स्याङ्जाका ढकाल गण्डकी बोर्डिङका विज्ञान शिक्षक हुन्। फेस्टिभल अवलोकन गर्न पोखरा र आसपासका विद्यालयबाट विद्यार्थीको ठूलो संख्यामा भिड लागेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 