 
                             
                                            काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले देशभित्र विद्युत् आपूर्ति कटौती गरी भारततर्फ निर्यात नगरेको स्पष्टीकरण दिएको छ। पछिल्लो समय भारत निर्यात बढाएपछि काठमाडौँ उपत्यकामै बेला बेला लोडसेडिङ हुने गरेको छ। सोही विषयमा प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण दिएको हो।
प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले विगत केही दिन प्रणालीमा प्राविधिक गडबढी भएकाले लोडिसेडिङ भएको बताए। प्राविधिक गडबडीकै कारण देशका मध्य र पश्चिम क्षेत्रमा विद्युत् आपूर्तिमा केही समस्या भएको घिसिङले बताए। उक्त समस्या समाधान भइसकेको पनि घिसिङको भनाइ थियो। ‘देशभित्र विद्युत् कटौती गरी निर्यात गरेको चर्चा हुने गरेको सत्य हैन,’ घिसिङले भने।
देशभित्र उत्पादित विद्युत् यहाँ पुग्नेजति खपत गरी बढी भएको मात्र निर्यात गरिरहेको घिसिङको भनाइ थियो। खपत र निर्यात सँगसँगै जाने र खपत गरी बढी भएको विद्युत् निर्यात गर्दा प्राविधिकरणलाई आर्थिक नाफा हुने घिसिङले बताए। ‘केही दिन प्रणालीमा गडबढी भएको सत्य हो,’ उनले भने, ‘दिनमा ११ पल्टसम्म ट्रिपिङ भएको देखिन्छ। फल्ट पत्ता लगाएर अहिले सुधार गरिसकेका छौँ। प्रणाली नै गएपछि विद्युत् निर्यात पनि हुँदैन।’
प्रसारण तथा वितरण प्रणालीको क्षमताले नधानेका कारण वीरगञ्ज औद्योगिक करिडोर र बाँकेको कोहलपुर क्षेत्रका उद्योगहरूमा साँझको पिक समयमा विद्युत् आपूर्तिमा केही समस्या रहेको घिसिङको भनाइ थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 