फाइल तस्बिर। 
                                            काठमाडौँ- देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ। विभागका अनुसार हालसम्म सातै प्रदेशमा ३ लाख १९ हजार ३ सय १४ हजार पशु चौपाय निको भएका छन्।
हालसम्म ५ लाख ५५ हजार चार सय पशु संक्रमित भएको र त्यसमध्ये १ लाख ९ हजार ६ सय ६७ पशुमा खोप लगाइएको छ। हाल २ लाख १५ हजार पशु यो रोगको संक्रमणमा छन्।
विभागले रोग नियन्त्रणका लागि पशुपक्षी अन्वेषण तथा नियन्त्रण महाशाखाका प्रमुख डा. वरुणकुमार शर्माको संयोजकत्व र सातै प्रदेशसँगको समन्वयमा एलएसडी कन्ट्रोल रुम स्थापना गरी काम गरिरहेको छ।
लम्पी स्किन नेपालमा देखा पर्नासाथ कृषि तथा पुशपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको निर्देशनमा सातै प्रदेशमा मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली खटाइएको छ। उक्त टोलीले प्रदेशका विभाग र स्थानीय तहसँग सहकार्य गरेर काम अगाडि बढाएका छन्।
सहसचिव नेतृत्वको टोलीका अनुसार मुलुकभर लम्पी स्किन रोग क्रमिकरूपमा नियन्त्रण उन्मुख रहेकाले चिन्तामा नरहन पशुपालक किसानलाई आग्रह गरिएको छ।
लम्पी स्किन रोकथामका आवश्यक तयारीका साथ सातै प्रदेशमा टोली खटाएर काम अगाडि बढाएको पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेले बताइन्। हाल विभागले पशु सेवा विभाग र अन्तर्गतका सहसचिवले नेतृत्व गर्ने गरी सातवटै प्रदेशमा टोली खटाएको छ।
विभागका अनुसार असार ५ गते सुदूरपश्चिम प्रदेशमा विभागका उपमहानिर्देशक डा. वरुणकुमार शर्मा, कर्णाली प्रदेशमा उपमहानिर्देशक डा. प्रेरणा सेढाईँको नेतृत्वमा लम्पी स्किन रोगको रोकथाम, नियन्त्रण तथा समन्वय टोली खटाइएको छ।
लम्पी स्किन रोग सम्बन्धमा बारम्बार सोधिने प्रश्नहरूको उत्तरसहितको सामग्री तयार गरिएको छ। साथै उक्त रोगको रोकथाम तथा नियन्त्रण गर्न स्थानीय तहअनुसार अनुमानित पशु संख्या, रोगको जोखिममा रहेका पशु संख्या र लम्पी स्किन रोगविरुद्धको खोप लगाउनुपर्ने अनुमानित पशु संख्याको विवरण विभागमा उपलब्ध गराउन प्रदेशस्थित पशु सेवा हेर्ने सातवटै मन्त्रालयहरूलाई निर्देशन दिइएको छ।
आवश्यक बजेट नहुँदा भ्याक्सिन खरिदमा समस्या परिरहेका बेला मन्त्रायलले आवश्यक बजेटको प्रबन्ध मिलाएर काम अगाडि बढाएको जनाएको छ।

                                             
                                             
                                             

