राजनीतिक परिवर्तनले जनतालाई संकटको चक्रव्यूहमा फसायो : कमल थापा

हिमाल प्रेस ७ असार २०८० १७:५८ | Thursday, June 22, 2023
राजनीतिक परिवर्तनले जनतालाई संकटको चक्रव्यूहमा फसायो : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले २०६२-०६३ को परिवर्तनले जनतालाई संकटको चक्रव्यूहमा फसाएको टिप्पणी गरेका छन्। पार्टीको काठमाडौँ जिल्ला भेलामा बिहीबार सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन्। उनले १७ वर्षदेखि राजनीतिक वर्चस्व जमाएर ठूला भनिने दलहरूले मुलुकमा बेथिति, विसंगति, कुशासन र ब्रह्मलुट मच्चाएको आरोप लगाए।

अध्यक्ष थापाले मुलुकको स्वाधीनता कमजोर बनाउने, अर्थतन्त्र धराशयी पार्ने, बेरोजगारी र भ्रष्टाचारको दलदलमा देशलाई फसाउने र धर्म परिवर्तनको डढेलो लगाउनेहरूले मुलुकलाई स्थिरता दिन नसक्ने पनि दाबी गरे।

धर्म, संस्कृति र परम्परा नष्ट नगरी मुलुकलाई बलियो बनाउन सकिन्छ भन्ने चेत शासकहरूसँग नहुनु विडम्बना भएको उनको तर्क छ। शक्ति, स्वार्थ र अवसरको बाटो सजिलो हुने तर निष्ठा, आदर्श र त्यागको मार्ग कठिन हुने भन्दै थापाले इमानदारीका साथ निष्ठाको बाटो हिँड्नेहरू गन्तव्यमा पुग्ने बताए।

विगतका कमजोरी सच्याउँदै राप्रपा नेपाललाई पुनर्जागृत गरेको समेत बताए। जनतालाई केन्द्रमा राखेर राप्रपा नेपाल सडक केन्द्रित हुने स्पष्ट पारे। कार्यक्रममा पार्टीका उपाध्यक्ष जयकुमार खड्का, महामन्त्री राजाराम बर्तौला, नर थापा, डम्बर शिवाकोटी ,राजकुमार खड्का, श्याम घिमिरे, दिनेश नापितलगायतले बोलेका थिए।

प्रकाशित: ७ असार २०८० १७:५८ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast