 
                             
                                            भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रश्न गर्दा ‘द वाल स्ट्रिट जर्नल’की पत्रकार सबरिना सिद्दिकी ट्रोल भएकी छन्। अमेरिका भ्रमणका क्रममा मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनको संयुक्त पत्रकार सम्मेलनमा पत्रकार सिद्दिकीले भारतमा रहेका अल्पसंख्यकका अधिकार, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताबारे प्रश्न गरेकी थिइन्।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री बनेयता ९ वर्षमा मोदी कुनै पनि पत्रकार सम्मेलनमा सहभागी भएका छैनन्। न कुनै पत्रकारको प्रश्नको सामना गरेका छन्।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपतिसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्नैपर्ने बाध्यता आइलाग्यो। पत्रकार सम्मेलनमा एक प्रश्न अमेरिकी राष्ट्रपतिलाई सोधिएको थियो भने एक प्रश्नको जबाफ मोदीले दिनुपरेको थियो।
सिद्दिकीले मोदीलाई सोधेकी थिइन्, ‘तपाईं र तपाईंको सरकारले आफ्नो देशमा मुस्लिमलगायत अन्य अल्पसंख्यक समुदायको अधिकार र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न केकस्ता प्रयास गरिरहेको छ?’
मोदीले जबाफमा भनेका थिए, ‘अचम्म लाग्छ, तपाईं भन्दै हुनुहुन्छ मान्छे भन्छन्। मान्छेले भन्ने होइन, भारत एक लोकतान्त्रिक देश हो। भारत र अमेरिकाको डीएनएमै लोकतन्त्र छ। लोकतन्त्र हाम्रो रगतमा छ। हामी लोकतन्त्रमा बाँच्छौँ। हाम्रो सरकार लोकतन्त्रका मूलभूत मूल्यमान्यतामा आधारित संविधानअनुसार चल्छ। जाति, धर्म वा लैंगिक स्तरमा कुनै किसिमका भेदभाव गरिँदैन। भारत सबैको साथ, सबैको विकास र सबैको विश्वास, सबैको प्रयासको मूलभूत सिद्धान्तलाई मान्छ। भारतमा सरकारबाट प्राप्त हुने सेवासुविधा सबैलाई उपलब्ध छन्। कुनै भेदभाव छैन।’
प्रश्नपछि सिद्दिकी सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छन्। उनलाई पाकिस्तानी भनिँदै छ। भारतीय जनता पार्टी (बीजेपी)का नेता अमित मालवीयले प्रधानमन्त्री मोदीलाई सबरिनाले दुराशययुक्त प्रश्न गरेको बताएका छन्।
बीबीसीमा प्रकाशित समाचारअनुसार ‘इन्डियन्स अमेरिकन्स’ नामक ट्विटर ह्यान्डलमा सबरिनालाई पाकिस्तानी इस्लामिस्ट बताइएको छ। उनले पत्रकार सम्मेलनको मौका छोपेर मोदीमाथि आक्रमण गरेको त्यसमा लेखिएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले खेदो खन्न थालेपछि सिद्दिकी स्वयं आफ्नो बचावमा उत्रिएकी छन्। उनले भनेकी छन्, ‘केही मान्छे मेरो व्यक्तिगत पृष्ठभूमिलाई मुद्दा बनाउँदै छन्। केही कुरा स्पष्ट पार्न चाहन्छु। कहिलेकाहीँ पहिचानजस्तो देखिन्छ, त्योभन्दा धेरै जटिल हुन्छ।’
‘द वाल स्ट्रिट जर्नल’ का अनुसार उनी वासिङ्टन डीसीका लागि ह्वाइट हाउसकी संवाददाता हुन्। उनले अमेरिकी राष्ट्रपति जो बाइडनसम्बन्धी समाचार लेख्ने गर्छिन्।
सन् २०१९ मा ‘द वाल स्ट्रिट जर्नल’ मा आबद्ध हुनुअघि उनी ब्रिटिस अखबार ‘द गार्जियन’का लागि ह्वाइट हाउसमा काम गर्थिन्। उनले सन् २०१६ का राष्ट्रपति चुनावको रिपोर्टिङ गरेकी थिइन्। नर्थ वेस्टर्न युनिभर्सिटीबाट स्नातक उनी आफ्ना श्रीमान्सँग अमेरिकको वासिङ्टन डीसीमा बस्छिन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 