 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            झापा– वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरको ६ वटा माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि ३६ लाख मूल्य बराबरको अत्याधुनिक फिल्टर मेसिन प्रदान गरेको छ।
१ हजार लिटर क्षमताको एउटा फिल्टरको मूल्य ६ लाख रहेको छ। केन्द्रले विद्यालयलाई निःशुल्क रूपमा फिल्टर दिएको केन्द्रका झापा प्रतिनिधि अमर मेचेले जानकारी दिए।
फिल्टर मेसिन पाउने विद्यालय मेचीनगर-८ को आदर्श माध्यमिक विद्यालय, वडा १० को इस्ट होराइजन आवासीय अंग्रेजी माध्यमिक विद्यालय र धुलाबारी माध्यमिक विद्यालय, वडा ९ को कवि शिरोमणि माध्यमिक विद्यालय, वडा १३ को सहिद दशरथ माध्यमिक विद्यालय र वडा १४ को बालसुबोधिनी माध्यमिक विद्यालय रहेका छन्।
मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होम भण्डारीले प्राप्त भएका फिल्टर मेसिनबाट दश हजारभन्दा बढी विद्यार्थी शुद्ध पिउने पानीको सुविधाबाट लाभान्वित हुने बताए।
नगरका अन्य विद्यालयमा पनि शुद्ध पिउने पानीको अभाव पूरा गर्न थप मेसिन उपलब्ध गराउनका लागि वातावरण संरक्षण केन्द्र नेपाललाई अनुरोध गरिएको उनले जानकारी दिए।
आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खड्काले आफ्नो विद्यालयलाई उपलब्ध भएको फिल्टर प्लान्ट जडान गरिएको जनाउँदै त्यसको सञ्चालन र प्राविधिक रेखदेख विद्यालयका कर्मचारीले नै गर्ने उल्लेख गरे।
यसैबीच मेचीनगरको भानु आधारभूत विद्यालयको व्यवस्थापन समितिले विद्यालयलाई बन्द हड्तालमुक्त घोषणा गरेको छ। सरकारले तोकेको सार्वजनिका बिदाबाहेक विद्यालयको पठनपाठन कहिल्यै अवरुद्ध नहोस् भन्नाका लागि यस्तो निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर ओलीको भनाइ छ।
उनका अनुसार समितिको बैठकमा विद्यालयलाई बन्दमुक्त बनाउने सर्वसम्मत निर्णय भएको हो। विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीले उक्त निर्णयमा सहमति जनाएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 