मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी जग्गा

हिमाल प्रेस १३ असार २०८० १९:३३ | Wednesday, June 28, 2023
मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चारक मीनबहादुर गुरुङ।

काठमाडाैँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दाबी गरेको छ।

कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्ति र उनीहरूसँग जोडिएको विषयबारे बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले उक्त जानकारी गराए।

गुरुङ र उनको परिवारबाहेक अन्यको हकमा करिब ५ रोपनी जग्गा रहेको देखिएको आचार्यले बताए। त्यस्तै अर्का पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले भने मालपोत कार्यालय भक्तपुरको तत्कालीन अधिकृत हुँदा ५ रोपनीभन्दा बढी ललिता निवासको जग्गा हडपेको आरोप लगाइएको छ। प्रहरीले मंगलबार गुरुङ र शाहसहित धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरी हिरासतमा राखेको छ।

सर्वाेच्चबाट स्टेअडर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये अन्य ३ जनालाई भने कागज गराएर हिजो नै छाडिएको थियो। सीआईबीका अनुसार उनीहरूलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न सर्वाेच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो।

यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन्। देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन्।

२०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

ललिता निवास प्रकरणमा यसअघि ३ सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने बताउँदै फाइल फिर्ता पठाएको थियो। त्यसपछि सीआईबीले पुन: अनुसन्धान थालेको हो। उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन छ। रासस

प्रकाशित: १३ असार २०८० १९:३३ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast