गगनलाई रमेश लेखकको जवाफ : महाधिवेशन अघि देउवालाई सभापतिबाट हटाउन मिल्दैन

हिमाल प्रेस १ असार २०८० १७:१९ | Friday, June 16, 2023
गगनलाई रमेश लेखकको जवाफ : महाधिवेशन अघि देउवालाई सभापतिबाट हटाउन मिल्दैन कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ- नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन्। महामन्त्री गगनकुमार थापाले पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने बताइरहेको बेलामा लेखकले महाधिवेशनले मात्रै देउवालाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको बताएका हुन्।

पार्टी सभापति, केन्द्रीय समिति चयन गर्ने प्रक्रिया र पद्दति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुन सक्ने प्रमुख सचेतक लेखकको भनाइ छ। शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले महामन्त्री थापाप्रति संकेत गर्दै सभापति हटाउने विषय एउटा व्यक्तिले भनेर नहुने बताए।

‘कांग्रेस ठूलो पार्टी हो । जीवन्त पार्टी हो । लोकतान्त्रिक पार्टी हो । कांग्रेसमा वादविवाद, प्रतिवाद, आलोचना, समालोचना, समर्थन, विरोध सबै हुन्छ,’ उनले भने, ‘जहाँसम्म यो सभापति को हुने, के हुने भन्ने कुरा छ नि  त्यसको पनि एउटा निश्चित प्रक्रिया र पद्धति कांग्रेसको सभापति बन्छन्। एउटा निश्चित प्रक्रिया र पद्धतिबाट सभापति परिवर्तन हुन्छ।’

आगामी महाधिवेशनबाट मात्रै कांग्रेसले अर्को सभापति पाउने उनको भनाइ छ।   उनले आफ्नो पार्टीमा कम उमेरमा पनि पदाधिकारी बनेकाहरू अहिले संसद्‌मा अगाडि बसिरहेको बताए। ‘नयाँ पुस्ता त यो पार्लियामेन्टमा हेर्नु भयो भने हामीले यो प्रतिनिधिसभामा सबैभन्दा पहिलो रो’मा पार्टीका पदाधिकारीहरु बस्नुहुन्छ,’ उनले भने, ‘तपाईंले जम्मै पार्टीको हेर्नु भयो भने मलाई लाग्छ सबैभन्दा कान्छो उमेरका पदाधिकारी त हाम्रै पार्टीमा छन् त। अनि, नयाँ पुस्ता भनेको कहाँनिर हो ? एक जना सभापतिबाहेक सबै मान्छे नयाँ पुस्ता छन्।’

प्रकाशित: १ असार २०८० १७:१९ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast