काठमाडौँ– नेपाली कांग्रेसका सांसद दीपक गिरिले सांसदबारे जनताले बुझ्दै नबुझेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिनेक्रममा सांसदबारे जनताले बुझ्दै नबुझेको भन्दै उनले आफूलाई झोले सांसद भनेका हुन्।
जनतालाई सांसदले कानुन बनाउने हो भन्ने बुझाउन ढिला भइसकेको पनि बताए।
‘आफूलाई झोले सांसद भन्न रुचाउँछु। राति फोन आउँछ एउटा बुढीआमाको– बाबु, मेरो त एउटा खसी मर्यो नि, दुइटा खसी पालेको सांसद बाबुले केही गरिदिनुहुन्छ कि! यस्तो छ नागरिकको बुझाइ,’ उनले भने।
त्यस्तै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बजेट बक्तव्यमा समेटिएको सांसद क्षेत्र विकास कोषलाई लिएर गरेको टिप्पणीमा समर्थन जनाए। बालेनले सांसदहरूलाई वडा अध्यक्षसँग तुलना गरेका थिए।
उनले भने, ‘म त सलाम गर्छु बालेनजीलाई। उहाँले हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो। चिन्न छोड्नुभयो होला भन्ने फोन आउँछ जनताको स्तर यस्तो छ।’
गिरिले जेठ १५ गते अपराह्न ४ बजेको सट्टा बिहान १० बजे नै बजेट भाषण गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे।
‘बजेट भाषण सधैँ बेलुका ४ बजे हुने, के कारणले ४ बजे नहुने? किन बिहान १० बजे, १२ बजे नहुने? मैले कारण के रहेछ भनेर हेरेँ,’ उनले भने, ‘जति बेला भारतमा ब्रिटिस इन्डिया सरकार थियो, त्यति बेला भारतमा ४ बजे बजेट भनिँदो रहेछ। त्यति बेला इंग्ल्यान्डमा बिहानको १० बज्दो रहेछ। त्यति बेला त्यहाँका ब्रिटिसलाई सुन्नु जरुरी रहेछ। त्यो कारण चलेको चलन नेपालमा आयो। त्यो सुर्धानुपर्यो।’




