 
                             
                                            बनेपा– वर्षौंदेखि भग्नावशेषका रूपमा रहेको मण्डनदेउपुर नगरपालिका-९ स्थित पुरानो ऐतिहासिक नर्बन्दा पाटी पुनर्निर्माण सुरु गरिएको छ।
पुरातत्त्व विभागको आर्थिक सहयोगमा निर्माण सुरु भएको पाटीको मण्डनदेउपुर नगरपालिकाका मेयर टोक वाइबाले शिलान्यास गरे। नर्बन्दा नाम गरेकी चेलीले सो पाटी निर्माण गरेको किम्वदन्ती छ। पाटी कति वर्षअघि निर्माण गरिएको भन्ने यथार्थ मिति नभेटिए पनि कम्तीमा दुई सय वर्षभन्दा बढी पुरानो भइसकेको अनुमान छ।
जीर्ण रहेको अवस्थामा रहेको उक्त संरचना ०७२ सालको भूकम्पका कारण थप जीर्ण बनेको थियो। जसको पुनर्निर्माणका लागि अहिले पुरातत्त्व विभागले १५ लाख ६६ हजार ८ सय ५२ रुपैयाँ बजेट व्यवस्थापन गरेर काम अगाडि बढेको हो।
पाटी चालु आर्थिक वर्षमा १ तला निर्माण हुनेछ भने आगामी आवमा पुनर्निर्माणको सम्पूर्ण काम सकिने निर्माण कम्पनी पञ्चस्तम्भ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिले जनाएको छ।
पुरातात्त्विक तथा सार्वजिक महत्त्वका सम्पत्ति संरक्षण गर्ने राज्यको कर्तव्य भएको र त्यसको संरक्षणका लागि पुरातत्त्व विभागबाट बजेटको व्यवस्थापन भएपछि पुनर्निर्माण सुरु भएको मेयर वाइबाले बताए।
मेयर वाइबाले काम हुँदै गर्दा निर्माणको रेखदेख गर्न स्थानीयलाई आग्रह गरेका छन्। ‘नगरपालिकाले पनि अनुगमनलाई विशेष ध्यान दिन्छ’, उनले भने,’उपभोक्ताले पनि जिम्मेवारीका साथ निर्माण भइरहँदा अवलोकन गरिरहनुपर्छ।’
काम बिग्रिएपछि टीकाटिप्पणी गर्नुभन्दा हुँदै गर्दा कमीकमजोरी औंल्याउन सक्यौं भने राम्रो हुने उनको भनाइ छ। नगरपालिकाले जीर्ण रहेको बालुवा पाटी, रायोबारीको पाटीलगायतका विभिन्न मठमन्दिर तथा पाटी पुनर्निर्माणका लागि पुरातत्त्व विभागमा प्रस्तावना बुझाइसकेको अध्यक्ष वाइबाले बताए।
उपमेयर विष्णुमणि नेपालले निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न निर्देशन दिएकी छन्। ऐतिहासिक पाटी पुनर्निर्माणमा कोही कसैले खेलाची नगर्न आग्रह गर्दै प्राविधिक अनुमानित लागतअनुसार निर्माण भए नभएको हेर्न स्थानीयलाईसमेत अनुरोध गरेका छ।
पुरातात्त्विक महत्त्वको संरचना भावी पुस्ताका लागिसमेत चिनारीका रूपमा संरक्षण गर्नु सबैको दायित्त्व भएको उनले बताए। वडा ९ का अध्यक्ष सीताराम श्रेष्ठले पाटी निर्माणपछि व्यवस्थित ढंगले सञ्चालन गर्न छुट्टै समिति गठन गर्ने बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 