राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण कतिञ्जेल गर्ने भन्दै प्रश्न गरेका छन्।
चार दलको समाजवादी मोर्चाबारे टिप्पणी गर्दै थापाले राजनीतिक दल आपसमा एकता गर्ने वा मोर्चा बनाउने कार्य स्वभाविक भए पनि अन्य दलप्रति गलत टिप्पणी गर्न नहुने बताएका हुन्।
सोमबार मोर्चा घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले मोर्चाको गठन प्रतिगमन र प्रतिगामी शक्तिका विरुद्ध युद्धको घोषणा भएको उल्लेख गरेका थिए।
थापाले प्रचण्डको उक्त भनाइ राजसंस्था र हिन्दूराष्ट्र पक्षधर एवं संघीयता विरोधी शक्तितर्फ इंगित भएको बताएका छन्। थापाले भनेका छन्, ‘देशलाई वर्तमान संकटको दलदलमा फसाउने काम १७ वर्षअघि पाखा लगाइएका राजा वा राजसंस्थाबाट भएको होइन।’
अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट भएको, नेताहरूमा विदेशीको सामु घुँडा टेक्ने आत्मसमर्पणवादी मानसिकता हाबी भएको, विदेशीको चलखेल र हस्तक्षेप बढेको थापाले बताएका छन्।
उनी भन्छन्, ‘सनातन धर्म संस्कृतिमाथि निरन्तर आक्रमण जारी छ, अर्थतन्त्र संकटग्रस्त छ, देशभित्र रोजगारी नपाएर लाखौँ युवा विदेश पलायन हुन बाध्य भएका छन्। यो अवस्थाको सिर्जना कसले गरेको हो? राजा वा हिन्दूवादीहरुले हो?’
वास्तवमा २०६३ सालको राजनीतिक परिवर्तनपछि आमूल परिवर्तनको नाममा अबलम्बन गरिएको अवधारणा र राष्ट्रनिर्माणको मार्गचित्र नै गलत भएको थापाको बुझाइ छ।
उनले देशले भोग्नु परेको रोग, भोक, अशिक्षा, गरिबी र पछ्यौटेपनको मूलकारण राजसंस्था, हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणाली दोषी हुन् भन्ने भाष्य नै गलत भएको बताएका छन्।
यस्ता त्रुटी र कमजोरीहरू सच्याएर देश र जनताको हितमा काम गर्नुको सट्टा अमुर्त र भ्रामक त्राश सिर्जना गर्नु हाल विद्यमान कुशासन, भ्रष्टाचार र अराजकतालाई निरन्तरता दिने चाहना मात्रै भएको अध्यक्ष थापाको भनाइ छ।




