फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी प्रक्रिया दिएको छ। पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शनिबार विज्ञप्तिमार्फत नागरिकता विधेयक सम्बन्धमा प्रतिक्रिया दिएका हुन्।
नागरिकता विधेयक प्रमाणीकरणले संसद्को सम्मान र संविधानको रक्षा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन), २०७९ का सम्बन्धमा हाल भैरहेको दुष्प्रचार र संविधानको अपव्याख्याप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद र संविधानको सम्मान र संरक्षण गर्नुभएको छ।’
संसदले सबै प्रक्रिया पुरा गरेर पारित र प्रमाणीत गरी दोस्रो पटक प्रस्तुत गरेको विधेयक संविधानको धारा ११३ को उपाधार (४) बमोजिम प्रमाणीकरण गर्नैपर्ने संवैधानिक प्रावधानलाई यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले बेवास्ता गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
तत्कालीन राष्ट्रपतिले अलपत्र पारेको विधेयक सोही धारा बमोजिम प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले संसद्को सार्वभौमिकताको रक्षा र संविधानको संरक्षण गर्ने संवैधानिक कर्तव्य पूरा गरेको कांग्रेसको भनाइ छ।





