 
                             
                                            काठमाडौँ- नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ। डिबेन्चर निष्कासनका लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जानकारी दिएको छ। ऋणपत्र निष्कासनका लागि बैंकले बिक्री प्रबन्धक पनि नियुक्ति गरिसकेको छ।
बैंकले डिबेन्चर बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पक्षबीच बिक्री प्रबन्धकका लागि सम्झौता गरिएको हो।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरूद्वय विनयकुमार रेग्मी र मनोज ज्ञवाली तथा दुवै संस्थाका वित्त प्रमुखहरूको उपस्थिति थियो।
नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालयलगायत सम्पूर्ण नियामक निकायको स्वीकृतिपछि ऋणपत्र निष्कासन गरिने बैंकले बताएको छ। पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिबेन्चर निष्कासनले सहयोग पुर्याउने विश्वास लिइएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 