धवलागिरि गाउँपालिकाद्वारा सुत्केरीलाई घिउ र बच्चालाई पौष्टिक आहार उपहार

हिमाल प्रेस २९ जेठ २०८० ८:०८ | Monday, June 12, 2023
धवलागिरि गाउँपालिकाद्वारा सुत्केरीलाई घिउ र बच्चालाई पौष्टिक आहार उपहार

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र २ वर्षसम्मका बच्चालाई पौष्टिक आहार उपहार दिएको छ। सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घिउ, अण्डालगायतका पौष्टिक आहार उपहार दिइएको हो।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि पौष्टिक आहार उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

‘स्वास्थ्य संस्थामा गई ४, ६, ८ र ९ महिनामा गर्भ जाँच गराउने आमा र १५ महिनाभित्र तोकिएका सबै मात्राको खोप लगाएका तथा १२ र २४ महिनामा तौलको वृद्धि अनुगमन गर्न आउनेलाई पोषिला खानेकुरा दिने गरिएको छ,’ उनले भने, ‘पालिकाभित्रका स्वास्थ्य संस्थाबाट सेवा लिने आमा र बच्चाले यो सुविधा पाउने कार्यविधि बनाएका छौं।’

४ पटकको गर्भ परीक्षण र सुत्केरी भएपछि ५ क्यारेट अण्डाको साथमा आधा लिटर घिउ र सुप बनाएर सुत्केरीले खाने ज्वानो उपहार दिने गरिएको छ। १५ महिनामा तोकिएको सबै मात्राको खाप लगाउने, १२ र २२ महिनामा वृद्धि अनुगमन गर्ने बच्चाले पनि एक/एक क्यारेट अण्डा पाउँछन्।

चालु आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन भएको यस कार्यक्रमबाट १ सय २६ जना सुत्केरी र २ सय जना गर्भवतीले यो सुविधा पाइसकेका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीको भनाइ छ। भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धैलागिरि गाउँपालिकाका अधिकांश महिला सुत्केरी हुन सदरमुकाम बेनी तथा जिल्ला बाहिरका अस्पतालमा जाने गर्छन्।

केही अझै पनि भरमा असुरक्षित रूपमा सुत्केरी हुने गरेका छन्। धवलागिरिको सातवटै वडाका स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा उपलब्ध छ।

यसैगरी धवलागिरि गाउँपालिकाले दीर्घरोगीको घर घरमा अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ। दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधि उपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका अध्यक्ष प्रेम पुनले दीर्घरोगीलाई घरदैलोमै औषधि उपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

कार्यक्रममार्फत सबै वडा र बस्तीबाट नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीको विवरण संकलन भइरहेको छ,’ उनले भने, ‘विवरण संकलन भएपछि गाउँपालिकाले औषधि खरिद गरेर दीर्घरोगीलाई उपलब्ध गराउँछौं।’

कार्यक्रमलाई चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन भएको छ। -रासस

प्रकाशित: २९ जेठ २०८० ८:०८ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast