टेलिकम टावरले मुहार फेरेको कञ्‍चनपुरको खल्ला मसेट्टी

हिमाल प्रेस ४ असार २०८० ९:३७ | Monday, June 19, 2023
टेलिकम टावरले मुहार फेरेको कञ्‍चनपुरको खल्ला मसेट्टी सांकेतिक तस्बिर।

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्लाका रंगे बुढालाई टेलिफोन सम्पर्क गर्न रुख चढेको सम्झना ताजै छ। नेपाल टेलिकमको ‘टावर’ पुगेपछि अहिले उनको बाध्यता हटेको छ।

उनी अहिले नेपाली सिमकार्डकै प्रयोग गरेर टेलिफोन सम्पर्क गर्ने गर्छन्।

‘यहाँ टावर नहुँदा नेपाली सिमबाट सम्पर्क गर्न डाँडो वा रुख उक्लिनुपर्‍थ्यो, त्यसैले अधिकांश स्थानीयले भारतीय सीमकार्ड प्रयोग गर्थे,’ उनले भने, ‘अहिले यो बाध्यता हटेको छ, बिजुलीसँगै टावर बनेपछि सहजै सम्पर्क हुन्छ।’

कञ्चनपुरको दुर्गम भेगका रूपमा चिनिने भीमदत्त नगरपालिका-९ को खल्ला, मसेट्टी र टुँडिखेलले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणमा गति लिएको छ। विकासका पूर्वाधारबाट पछाडि परेका चुरे फेदीका यी बस्ती सडक सञ्जाल, विद्युत् र सञ्चारलगायतका सेवा सुविधामा जोडिएका छन्।

‘अगाडि विद्युत्को सुविधा थिएन, सोलार र टुक्कीले काम चलाउँथ्यौं, २/३ वर्षयता विद्युत् आएको छ,’ टुँडिखेलका लोक थापामगरले भने, ‘अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको छ।’

खल्ला, मसेट्टी र टुँडिखेलका स्थानीयले पछिल्लो केही वर्षयता विकासका पूर्वाधारसँग जोडिँदै गएको उनको भनाइ छ। डडेल्धुराबाट बसाइँसराइ गरेर यहाँ आएका उनी डेढ दशकअघिदेखि टुँडिखेलमा बस्दै छन्।

‘सुरुमा यहाँ आउँदा निकै कठिन थियो, बाटोघाटो, शुद्ध पिउने पानी, विद्युत्लगायत केही सुविधा थिएन,’ उनले भने, ‘दशक जति निकै दुःख झेलेर जीवन निर्वाह गर्‍यौं।’

खल्ला, मसेट्टी र टुँडिखेल सदरमुकाम महेन्द्रनगरदेखि झण्डै १५ किलोमिटरको दूरीमा पर्छन्। महाकालीको तिरैतिर ग्राभेल बाटो बनेपछि यहाँका स्थानीय सदरमुकामसँग जोडिएका छन्।

‘वर्षौंपछि सडक सुविधा पाएका हौं, पहिलोपटक स्थानीय तहमा जनप्रतिनिधि आएपछि हामीले विकासको आभाष गर्न पायौं,’ भीमदत्त नगरपालिका-९ खल्लाका सुरेन्द्र कठायतले भने, ‘अहिले गाउँसम्मै गाडी चल्छ।’ यसअघि बाटोको सुविधा नहुँदा यहाँका स्थानीय हिँडेरै आवतजावत गर्ने गरेका थिए। खल्ला, मसेट्टी र टँुडिखेलसम्म महेन्द्रनगरबाट दिनहुँ १ बस छुट्ने गरेको छ।

गाउँ गाउँमा बस तथा अटो पुग्न थालेपछि आवतजावतमा निकै सहजता थपेको स्थानीयको भनाइ छ। ०५२ सालदेखि खल्ला, मसेट्टी र टुँडिखेलमा मानव बस्ती बस्न थालेको हो।

टुँडिखेलमा करिब २ सय ५०, खल्लामा १ सय ५० र मसेट्टीमा ७० परिवारको बसोबास रहेको छ। खल्लाकी मनिषा साउदले बर्खायाममा महाकालीमा आउने बाढीले दुःख दिने गरेको बताए।

उनका अनुसार अझै सिँचाइको सुविधा नपुगेकाले आकाशको पानीको भरमा बाली लगाउने गरिन्छ। ‘सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा बाली लगाउनुपर्छ, अन्न खानलाई पनि उत्पादन हुँदैन,’ उनले भने।

प्रकाशित: ४ असार २०८० ९:३७ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast