झापाको वन क्षेत्रमै हात्तीका लागि आहाल र आहाराको व्यवस्था मिलाइँदै

हिमाल प्रेस ४ असार २०८० १०:०३ | Monday, June 19, 2023
झापाको वन क्षेत्रमै हात्तीका लागि आहाल र आहाराको व्यवस्था मिलाइँदै फाइल तस्बिर।

झापा– झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम सुरु भएको छ।

जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए।

राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत झापाको कचनकवल-३ स्थित दुर्गाभिट्टा सामुदायिक वन र बाह्रदशी-१ साधुपर्ती सामुदायिक वन हाताभित्र २ वटा पोखरी निर्माण गरिएको छ।

१० लाखको लागतमा ती पोखरी निर्माण गरिएको हो। हात्ती र अन्य वन्यजन्तुलाई पानी खान र आहाल बस्न सहज होस् भन्ने उद्देश्यले पोखरी निर्माण गरिएको उनको भनाइ छ।

झापाका ८ वटा समुदायिक वनमा ४ हजार बाँस र २ हजार ८ सय केराको बिरुवा लगाउन सुरु गरिएको छ।

‘बिरुवा रोप्न खाल्डो खनेर तयारी अवस्थामा राखिएको छ,’ डिभिजन वन कार्यालय झापाकी अधिकृत रञ्जना पुरीले भनिन्,’ बिरुवा रोप्न खाल्डो खन्ने काम सकिएको छ, वर्षा सुरु भयो अब बिरुवा लगाइने छ।’

जिल्लाको मनकामना सामुदायिक वनमा बाँसका बिरुवा १ हजार र केरा ८ सय, साधुपर्ती सामुदायिक वनमा बाँस १ हजार र केरा चार सय ६०, पूर्व देउराली सामुदायिक वनमा चार सय केरा, पाथीभरा कालिका सामुदायिक वनमा बाँस ८ सय र केरा २ सय, दियालो सामुदायिक वनमा बाँस २ सय र केरा ४ सय, विशाल सामुदायिक वनमा बाँस ४ सय, दुर्गाभिट्टा सामुदायिक वनमा केरा ४ सय र मायालु सामुदायिक वनमा बाँस ६ सय र केरा २ सय वटा बिरुवा लगाइने छ।

वन क्षेत्रमा बाँस र केरा लगाउन १५ लाख बजेट प्राप्त भएको कार्यालयले जनाएको छ।

आहाराको खोजीमा हात्तीलगायतका वन्यजन्तु वन आसपासका गाउँ बस्तीमा पस्ने भएकाले वन क्षेत्रमै आहाराको व्यवस्थापन गर्न लागिएको हो।

यसबाट मुख्यतः मानव-हात्ती द्वन्द्व न्यूनीकरण गर्न मद्दत विश्वास लिइएको छ। झापाका सामुदायिक वनमा १ दर्जनभन्दा बढी रैथाने हात्ती रहेका छन्।

प्रकाशित: ४ असार २०८० १०:०३ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast