जनार्दन शर्मा भन्छन् : नेपालमा रासायनिक मल कारखाना आवश्यक छैन

हिमाल प्रेस ६ असार २०८० १६:५५ | Wednesday, June 21, 2023
जनार्दन शर्मा भन्छन् : नेपालमा रासायनिक मल कारखाना आवश्यक छैन

काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता नभएको बताए।

बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन्।

उपमहासचिव शर्माले अर्गानिक मल कारखानाको भने अवश्यक्ता रहेको औंल्याए। हामीसँग भएका स्रोत र साधनलाई परिचालन गरेर अर्गानिक मल कारखाना भने नेपालले बनाउन सक्ने उनको भनाइ थियो।

‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ। नेपालमा रासायनिक मल खारखानाको आवश्यक्ता छैन,’ उनले भने, ‘अर्गानिक मल कारखानाको आवश्यक्ता छ। हामीसँग भएका स्रोत, साधनहरूबाट, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौं। त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।’

शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि संघीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरू स्थापना गर्ने, कोल्डस्टोरहरू स्थापना गर्ने र स्थानीय सरकारले त्यसको उत्पादनमा जोड दिनुपर्ने आवश्यक्ता समेत औंल्याए।

उनले भने, ‘कृषिमा आधारित उद्योगलाई संघले अध्ययन र अनुसन्धान गर्ने, विज्ञहरूको उपलब्धता गराउने र प्रदेशले प्रशोधन उद्योगहरू स्थापना गर्ने, कोलस्टोरहरू बनाउने र स्थानीय सरकारले उत्पादनमा जोड दिने, बाँझो जमिनको प्रयोगमा ध्यान दिनु पर्दछ।’

प्रकाशित: ६ असार २०८० १६:५५ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast