 
                             
                                            पाँचथर– नेपाल-भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्। नेपाल र भारतलाई फाइदा पुग्ने गरी यो नाका खोल्न प्रदेश सरकार लागिपरेको चिवाभञ्ज्याङको मंगलबार भ्रमणका क्रममा उनले भने।
‘चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ लागिपरेको छु,’ उनले भने, ‘मैले बारम्बार नीति आयोगको सभामा यो विषय उठाउने गरेको छु।’
चिवाभञ्ज्याङमा नाका खोल्न भारतको केन्द्रीय सरकारसँग छलफल भएको मुख्यमन्त्री तामाङको भनाइ छ।
‘केन्द्र सरकार यसबारे सकारात्मक छ,’ उनले भने। चिवाभञ्ज्याङलाई नाकाको विकास गर्ने उद्देश्यले सिक्किम राज्य सरकारले ५६ करोड भारतीय रूपैयाँ खर्चेर उत्तरे बजारदेखि चिवाभञ्ज्याङसम्म २२ किलोमिटर सडक विस्तार गरेको छ।
नेपालबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग दशकअघि नै चिवाभञ्ज्याङसम्म पुगिसकेको छ। उक्त राजमार्गको उद्गम विन्दु पनि चिवाभञ्ज्याङ हो। पाँचथरको याङवरक गाउँपालिका-१ मा पर्ने चिवाभञ्ज्याङ नाका खोल्न याङवरक गाउँपालिकासहित यस क्षेत्रका नागरिकले माग गरिरहेका बेला सिक्किम राज्य सरकारले पनि नाका खोल्न पहल गरेको छ।
चिवाभञ्ज्याङसम्म नेपालका तर्फबाट उक्त राजमार्ग कालोपत्र २ वर्षअघि गर्न थालेपनि निर्माण व्यवसायीको लापरबाहीले पुरा हुन सकेको छैन।
वन अतिथि गृहको उद्घाटनका लागि चिवाभञ्ज्याङ पुगेका मुख्यमन्त्री तामाङले सिक्किमबाट चिवाभञ्ज्याङसम्म विस्तार भएको सडकलाई बहुउद्देश्यीय कोरिडोर बनाउने योजना रहेको जनाए।
चिवाभञ्ज्याङ अन्तर्राष्ट्रिय नाका बनेपछि उक्त सडकलाई २ लेनको बनाउने उल्लेख गर्दै उनले आफूहरूसँग सुनौलो मौका रहेको जानकारी गराए।
‘यो नाका खुले भारतसँगै नेपालको ४५ लाख जनसंख्यालाई लाभ पुग्ने छ,’ उनले भने, ‘यस विषयमा संघीय सरकारमार्फत नेपाल सरकारसँग संवाद गर्छौं।’ नेपाल र सिक्किमका बासिन्दाको आउजाउ रहे पनि यो नाकालाई वैधानिक रूपमा खोल्नु आवश्यक रहेको मुख्यमन्त्री तामाङको भनाइ छ।
चिवाभञ्ज्याङलाई सिक्किम र नेपालबीचको द्विपक्षीय सम्पर्कविन्दु बनाउनुपर्नेमा उनले जोड दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 