घट्याे बालमृत्युदर

हिमाल प्रेस ९ असार २०८० १४:२९ | Saturday, June 24, 2023
घट्याे बालमृत्युदर फाइल तस्बिर

काठमाडाैँ- नेपालमा बालमृत्युदर न्यूनीकरणमा उल्लेख्य प्रगति भएको पाइएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार बालमृत्युदर घटेको पाइएकाे  हाे।

सन् १९९६ मा ५ वर्षमुनिका प्रतिहजार बालबालिकामा १ सय १८ को मृत्यु हुने गरेकामा अहिले प्रतिहजारमा ३३ मात्रै मृत्यु हुने गरेको सर्वेक्षणले देखाएकाे छ। नवजात शिशुमृत्युदर पनि प्रतिहजारमा ७८ बाट २१ मा झरेको पाइएकाे छ।

भाैगाेलिक क्षेत्रअनुसार ५ वर्षमुनिका बालमृत्युदर फरकफरक रहेको छ। पहाडी क्षेत्रमा प्रतिहजारमा ३१ र हिमाली क्षेत्रमा प्रतिहजारमा ५५ जना रहेको सर्वेक्षणमा उल्लेख छ।

त्यस्तै गण्डकी प्रदेशमा प्रतिहजारमा २३ र सुदूरपश्चिम प्रदेशमा प्रतिहजारमा ४९ बालबालिकाको मृत्यु हुने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ। सर्वेक्षणअनुसार पुड्कोपना पनि घटेको पाइएको छ।

सन् १९९६ मा ५७ प्रतिशत पुड्कोपन रहेकामा अहिले २५ प्रतिशतमा झरेको छ। त्यस्तै ७१ प्रतिशत जीवित बच्चा स्वास्थ्य संस्थामा जन्मिने गरेका छन्। तीमध्ये ६२ प्रतिशत सरकारी अस्पतालमा जन्मिने गरेको पाइएको छ।

सर्वेक्षणले १९ प्रतिशत बालबालिका अझै पनि घरमै जन्मिने गरेको देखाएको छ। घरमा बच्चा जन्माउनेमा सबैभन्दा बढी मधेस प्रदेशमा ३२, कर्णाली प्रदेशमा २४ र कोशी प्रदेशमा १८ प्रतिशत रहेको छ। यसैगरी १८ प्रतिशत बच्चाको जन्म शल्यक्रियाबाट हुने गरेको छ।

शल्यक्रियाबाट बच्चा जन्माउने बढी माध्यमिक शिक्षाभन्दा बढी हासिल गरेका ४८ प्रतिशत महिला छन्। सम्पन्न परिवारका ३८ प्रतिशत महिला र सहरी क्षेत्रका २२ प्रतिशत महिलाले पनि शल्यक्रियाबाट बच्चा जन्माउने गरेका छन्।

सर्वेक्षणअनुसार ७२ प्रतिशत बालबालिकाको जन्मदर्ता हुने गरेको र १ प्रतिशतले अझै पनि जन्मदर्ता नगरेको पाइएको छ। रासस

प्रकाशित: ९ असार २०८० १४:२९ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast