गर्मीको सास्ती खेपेका बाँकेका जनतालाई लोड सेडिङले थप्दैछ हैरानी

हिमाल प्रेस ६ असार २०८० १०:१२ | Wednesday, June 21, 2023
गर्मीको सास्ती खेपेका बाँकेका जनतालाई लोड सेडिङले थप्दैछ हैरानी फाइल तस्बिर।

बाँके– भगवती रिजाल खुद्रा व्यावसायी हुन्। उनी बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएकी छन्।

छिनछिनमा बिजुली आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ। रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा छन्।

४ वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएकी रिजाल विगत वर्षभन्दा यसवर्ष विद्युत आपूर्ति अनियमित हुँदा व्यापारमा घाटा लागेको बताउँछिन्।

‘४ वर्षमा रेफ्रिजिरेटर यसअघि कहिल्यै बन्द भएन,’ उनले भनिन्, ‘कम भोल्टेजका कारण फ्रिज नचेलेको हुनाले यो गर्मीमा चिसो बनाउन राखिएको पेयपदार्थ नै चिसो नभएर बेच्न पाएकी छैन। ग्राहक आउँछन् सोध्छन्। चिसो छैन भन्नुपर्ने हुन्छ।’

भगवतीजस्तै सोही वडामा किराना पसल चलाउँदै आएका रामचन्द्र गिरीको व्यथा छ। बिजुली आउने जाने हुँदा फ्रिज चल्न पाएको छैन। ‘गर्मीमा धेरै बिक्री हुने भनेकै दही हो। तर बिजुली झ्याप्प आउने र जाने गर्दा दही पग्लिएर दूधजस्तै हुन्छ,’ उनले भने, ‘दूधजस्तै दही ग्राहकले किन्न मान्दैनन्।’

किराना पसलमा हरियो सागसब्जी पनि बेच्ने गर्छन्। तर चर्को घामका कारण हरियो तरकारी सुकेर खेर जाँदा तरकारीबाट नाफा कमाउन नसकेको उनले बताए।

‘बिहानै हाटबजार गएर ल्याएको हरियो तरकारी चर्को घामले सुकाइदिन्छ। साग सुकेर फाल्नुपरेको छ,’ उनले भने।

गर्मीको सयममा विद्युत प्राधिकरणले बेलाबेला बत्ती काटिरहने तथा कम भोल्टेजका कारण व्यापार गर्न कठिन हुँदै गएको उनको भनाइ छ।

कम भोल्टेजका कारण बेकरी व्यवसायीको अवस्था झनै दयनीय छ। बेकरी सञ्चालक रामकिशोर बर्मा अत्यधिक गर्मीका कारण व्यापार चौपट भएको बताउँछन्।

नेपाल विद्युत प्राधिकरणले अनियमित रूपमा विद्युत प्रवाह गरेपछि उनको व्यवसाय धरापमा परेको हो।

‘बेकरीमा केकका प्रकार धेरै हुन्छन्। चौबीसै घन्टा फ्रिजको आवश्यकता पर्दछ,’ उनले भने, ‘एक महिनायता एउटा फ्रिज नै बिग्रिएको छ। अर्को फ्रिजले पनि राम्रोसित काम गर्न सकिरहेको छैन।’

विद्युत सेवा प्रवाह भरपर्दो नभएको भन्दै विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले विद्युत कार्यालय घेराउ गर्दै आएका छन्। प्राधिकरणको नेपालगन्जस्थित वितरण केन्द्रलाई चार बुँदे ज्ञापन पत्र बुझाइएको स्थानीय नमस्कार शाहले बताए। -रासस

प्रकाशित: ६ असार २०८० १०:१२ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast