कोशीमा दुर्घटना : ११ महिनामा ३८८ जनाको मृत्यु

हिमाल प्रेस १२ असार २०८० १७:४९ | Tuesday, June 27, 2023
कोशीमा दुर्घटना : ११ महिनामा  ३८८ जनाको मृत्यु सांकेतिक तस्बिर।

झापा- कोशी प्रदेशमा सवारीसाधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा झापाका अत्यधिक छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परेर झापाका एक सय पाँच जनाले ज्यान गुमाएका छन्।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक वर्षको असार १० गतेसम्ममा तीन हजार तीन सय १७  सवारीसाधन दुर्घटनामा परेका थिए। गत वर्ष सोही अवधिमा तीन हजार पाँच सय ९६ सवारी साधन दुर्घटना हुँदा चार सय ९७ जनाले ज्यान गुमाएका थिए।

दुर्घटनामा सात सय ३१ जना गम्भीर र चार हजार पाँच सय १५ जना सामान्य घाइते भएका दाहालले बताए। दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरिमा चेतनामूलक २४ हजार पाँच सय ५१ कार्यक्रम गरिएका छन्। सडकको अवस्था, भौगोलिक कारण, ट्राफिक नियम उल्लंघन, पैदलयात्रीले जभाभाबी बाटो काट्ने, चालकको लापरबाही, सडकमा चौपाया छाड्ने जस्ता कारणले दुर्घटनामा वृद्धि भएको हो।

ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधनका चालकलाई कारबाही गरेर कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले १८ करोड ५४ लाख राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा प्रदेशका १४ जिल्लामा दुई लाख ७७ हजार तीन सय ७१ सवारीसाधनका चालकलाई कारबाही गरिएको प्रवक्ता दाहालले बताए।

गत वर्षको सोही अवधिमा १६ करोड ७२ लाख राजस्व संकलन भएको थियो। प्रदेशभरका जिल्लामा मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने सात हजार ६ सय ९२ जनालाई कारबाही गरिएको तथ्यांक छ। -रासस

प्रकाशित: १२ असार २०८० १७:४९ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast