कोशीका मुख्यमन्त्रीले भने : सर्वपक्षीय सरकारको विकल्प छैन, अन्यथा मध्यावधिमा जानुपर्छ

हिमाल प्रेस १४ असार २०८० १५:५६ | Thursday, June 29, 2023
कोशीका मुख्यमन्त्रीले भने : सर्वपक्षीय सरकारको विकल्प छैन, अन्यथा मध्यावधिमा जानुपर्छ हिक्मत कार्की। फाइल तस्बिर।

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा विश्वासको मत मागेका छन्। जारी प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै उनले सर्वपक्षीय सरकारको विकल्प नभएको बताएका हुन्।

उनले आफूले विश्वासको मत नपाउनेतर्फ संकेत गर्दै मध्यावधि निर्वाचनमा गएर आर्थिक भार थप्नु भन्दा सर्वपक्षीय सरकार बनाउनु उचित हुने बताए।

‘मैले प्रदेशको मौजुद अवस्था र यहाँको गणितलाई हेरेर सर्वपक्षीय सरकारको आह्वान गरेँ। मैले प्रयास गर्दा सार्थक निश्कर्षमा पुर्याउन सकेको छैन। यही बाटोमा जानुपर्छ,’ कार्कीले भने, ‘यो भन्दा अर्को विकल्प छैन। यो बाटोमा नजाने हो भने हामीले मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ। कानुनी रुपमा गर्नुपार्ला, तर कोहीपनि तयार छैन।’

उनले भने, ‘म फेरि पनि भन्छु, अर्को सरकार बन्ने सम्भावना मैले देख्दिँन। प्रदेश प्रमुख र सभामुखको आ-आफ्नो संवैधानिक दायीत्व हुन्छ।’

कोशीमा सत्तारुढ दल एमालेसँग ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ जना सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। कार्कीले विश्वासको मत पाउन थप १ सांसदको साथ आवश्यक परेको छ।

विपक्षी दलहरूमध्ये नेपाली कांग्रेससँग २९, माओवादी (सभामुखसहित) १३, नेकपा (एकीकृत समाजवादी) सँग ४ र जसपासँग १ जना सांसद छन्।

प्रकाशित: १४ असार २०८० १५:५६ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast