कथामय प्रदर्शनले जोगियो थ्रीस्टार, एपीएफ रेलिगेसनमा

हिमाल प्रेस २७ जेठ २०८० २२:१० | Saturday, June 10, 2023
कथामय प्रदर्शनले जोगियो थ्रीस्टार, एपीएफ रेलिगेसनमा जावलाखेल युथ क्लबविरुद्ध गाेल गरेपछि थ्रीस्टार क्लबका कप्तान विक्रम लामा तथा अन्य खेलाडी

काठमाडौँ- रेलिगेसनबाट बच्न अन्तिम खेल जित्नुपर्ने बाध्यता रहेकाे क्लबका समर्थकलाई खेलको कथा लेख्न दिए कस्तो लेख्लान्? कथा अवश्य पनि जितकै हुनेछ। कथाको केन्द्रमा कप्तान, यो त भन्नै परेन। कप्तान पनि यस्ता जो यही खेलबाट संन्यास लिँदैछन्। अन्तिम खेलमा गोल। गोल पनि पेनाल्टीमा। आखिरमा त्यही गोलले क्लबलाई रेलिगेसनबाट बचाउने। यो जत्तिको मिठो कथा के हुनसक्ला र?

शनिबार ठ्याक्कै यही भयो। अनिवार्य जितको लक्ष्य बोकेर थ्रीस्टार क्लब दशरथ रंगशाला पुगेको थियो। थ्रीस्टारको विपक्षी थियो, जावलाखेल युथ क्लब। जावलाखेलसँग बराबरी गर्दा पनि थ्रीस्टार रेलिगेसनमा पर्ने अवस्था थियाे।

तर थ्रीस्टार विजयी भयो। परिकल्पना गरिए जस्तै खेलको एक मात्र गोल कप्तान विक्रम लामाले गरे। त्याे पनि ८३ औँ मिनेटमा पेनाल्टी पाएपछि। आखिरमा यही जितले थ्रीस्टारलाई सहिद स्मारक ए डिभिजन लिगबाट घटुवा हुनबाट बचायो। तीन पटकको च्याम्पियनलाई रेलिगेसनबाट बचाएपछि विक्रमले संन्यासको घोषणा गरे।

जावलाखेललाई हराएपछि थ्रीस्टार २६ खेलबाट ३२ अंकसहित नवौँ स्थानमा उक्लियो। आठौँ स्थानको मनाङ मर्स्याङ्दी क्लब र १० औँ स्थानको संकटा क्लबले पनि ३२-३२ अंक बटुलेर लिग समापन गरे। जावलाखेल भने चौथो स्थानमा यथावत् रह्यो। लामो समय लिग लिडर बनेको जावलाखेल र च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच आखिरमा ११ अंकको दूरी कायम भयो।

थ्रीस्टार जोगिँदा एपीएफ भने रेलिगेसनमा पर्‍यो। शुक्रबार फ्रेन्ड्स क्लबसँग ४-० ले हारेपछि एपीएफ रेलिगेसननजिक पुगेको थियो। शनिबार थ्रीस्टार हारेको भए मात्र विभागीय टिम रेलिगेसनबाट जोगिने थियो। एपीएफलाई हराएकै कारण फ्रेन्ड्सले ए डिभिजन हैसियत जोगाउन सकेको थियो। एपीएफले २६ खेल खेलिसक्दा ३० अंक जम्मा गर्‍यो। १३ औँ स्थानको एपीएफको जति नै अंक भए पनि फ्रेन्ड्स हेड-टु-हेडका कारण १२ औँ स्थानमा रहेको हो।

एपीएफ पहिलो पटक रेलिगेसनमा परेको हो। २०६२ सालबाट ए डिभिजन लिग खेल्न थालेको एपीएफले पहिलो सिजनै पाँचौँ स्थान प्राप्त गरेको थियो। दोस्रो सिजन पनि पाँचौँ नै भएको एपीएफले त्यसपछि भने अंक तालिकामा त्यत्तिको माथिको स्थान प्राप्त गर्न सकेको थिएन। बरु दुई पटक रेलिगेसनको नजिक पुगेको थियो।

२०६६ मा १२ क्लबमध्ये १० औँ भएको एपीएफ १० वर्षपछि फेरि एकपल्ट झन्डैले रेलिगेट भएको थियो। तर अन्ततः एपीएफ १२ औँ स्थानमा अल्झियो। त्यस सिजन कुल १४ क्लब ए डिभिजन लिगमा थिए।

एपीएफसँगै बी डिभिजनमा झर्ने अर्को क्लब एफसी खुमलटार हो। शनिबार एन्फा कम्पेक्सको मैदानमा चर्च ब्वाइज युनाइटेडसँग् २-० ले हारेपछि खुमलटार बी डिभिजनमा फर्कने पक्का भएको थियो। संयोगवश चर्च ब्वाइज र खुमलटारका लागि ए डिभिजन लिगमा पहिलो सिजन थियो। चर्च ब्वाइज च्याम्पियन बन्यो भने खुमलटार लिगमा टिक्न सकेन। खुमलटारले कुल २७ अंक जम्मा गर्‍यो।

लिगको अन्तिम दिन शनिबार च्याम्पियन चर्च ब्वाइजलाई ट्रफी प्रदान गरियो। ए डिभिजन लिगको इतिहासमा १६ औँ च्याम्पियन बनेको चर्च ब्वाइजले ७५ लाख रुपैयाँ नगद पुरस्कार पायो। उपविजेता बनेको मछिन्द्र फुटबल क्लब र तेस्रो स्थान कब्जा गरेको नेपाल पुलिस क्लबले क्रमशः ५० र २५ लाख रुपैयाँ प्राप्त गरे।

ए डिभिज लिगमा उक्लिएकै सिजन विजेता बनेको चर्च ब्वाइज र गत दुई सिजनको च्याम्पियन मछिन्द्रबीच तीन अंकको दूरी रह्यो। चर्च ब्वाइजले ४८ र मछिन्द्रले ४५ अंक बटुले। तेस्रो स्थानको पुलिसले ४१ अंक बटुल्यो।

सुरुवाती खेलहरुमा गरेको प्रदर्शनका आधारमा रेलिगेसनको दाबेदार मानिएको पुलिस तेस्रो मात्र बनेन, ‘फेयर प्ले’ टिम पनि घोषित भयो। यसवापत पुलिसलाई तीन लाख रुपैयाँ पुरस्कार दिइयो।

व्यक्तिगत पुरस्कारतर्फ चर्च ब्वाइजका खेलाडी अघि रहे। कप्तान तथा रक्षक अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडी बन्दा यभेस प्रिसोले उत्कृष्ट गोलरक्षक घोषित भए। त्यसैगरी मछिन्द्रका ओलावाले अफिज सर्वाधिक गोलकर्ता बने भने थ्रीस्टारका लाकेन लिम्बु उदीयमान खेलाडी चुनिए।

चर्च ब्वाइजका प्रिसोले यसपालि ११ खेलमा क्लिनसिट राखेका थिए। लिगको उत्कृष्ट गोलरक्षक बनेवापत उनलाई दुई लाख रुपैयाँ दिइयो। उनका साथी खेलाडी अनन्तले भने सर्वोत्कृष्ट भएवापत तीन लाख रुपैयाँ पाए। २३ खेलमा २३ गोल गरेका ओलावाले पनि दुई लाख रुपैयाँ पाउँदा लाकेनले एक लाख ५० हजार रुपैयाँ पाए।

प्रकाशित: २७ जेठ २०८० २२:१० | Saturday, June 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast