 
                             
                                            काठमाडौँ- नेपाल इन्जिनियरिङ परिषद्ले सञ्चालन गरेको लाइसेन्स परीक्षामा ६६ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्।
परिषद्ले असार ६, ७ र ८ गते सञ्चालन गरेको दोस्रो चरणको लाइसेन्स परीक्षामा सहभागी भएका २ हजार ३७४ परीक्षार्थी मध्य ८०१ जना मात्र उत्तीर्ण भएका हुन्।
परीक्षामा सहभागी हुन २ हजार ४६८ जनाले आवेदन दिएकामध्ये ९४ जना अनुपस्थित भएको र ९ जनाको नतिजा विथहेल्डमा रहेको परिषद्का अध्यक्ष पद्मबहादुर शाहीले जानकारी दिए।
लाइसेन्स परीक्षा उत्तीर्ण हुनेमा काठमाडौँ विश्वविद्यालयका २९७ जना परीक्षार्थीमध्ये २०१ जना छन्। त्रिभुवन विश्वविद्यालयका ५४६ जनाले परीक्षा दिएकोमा २२७ जना उत्तीर्ण भएका छन्।
सबैभन्दा कम परीक्षार्थी अनुत्तीर्ण हुनेमा विदेशी विश्वविद्यालयबाट पढेर आएका परीक्षार्थी छन्। विदेशी विश्वविद्यालयमा अध्ययन गरेका ४०४ जना परीक्षार्थी मध्ये ४१ जना मात्र उत्तीर्ण भएका छन्।
अध्यक्ष शाहिले विदेशमा अध्ययन गरेकाहरू लाइसेन्स परीक्षामा बढी अनुत्तीर्ण भएको र विशेष गरी भारत, चीन, कोरिया, जापान, रुस, बंगलादेशलगायत मुलुकमा अध्ययन गरेर नेपाल आएका विद्यार्थी बढी अनुत्तीर्ण छन्।
नेपालमा इन्जिनियरका रूपमा काम गर्न काउन्सिलमा दर्ता र लाइसेन्स लिनु पर्ने व्यवस्था छ। इन्जिनियरिङ स्नातकको गुणस्तरमा प्रश्न उठेपछि परिषद्ले गत वर्ष असोजमा ऐन संशोधन गरी लाइसेन्स परीक्षा अनिवार्य गरेको थियो।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 