‘आलुप्याजमा भ्याट लगाउनु महँगीलाई मलजल गर्नु हो’

हिमाल प्रेस २९ जेठ २०८० ११:०७ | Monday, June 12, 2023
‘आलुप्याजमा भ्याट लगाउनु महँगीलाई मलजल गर्नु हो’

काठमाडौँ- नेपाल कृषिउपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) आकर्षित गर्नु अव्यावहारिक भएको बताएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरू आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको हो।

संघका महासचिव प्रकाश गजुरेलले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट वक्तव्यको एक बुँदा र सँगै प्रस्तुत भएको आर्थिक ऐन २०८० ले व्यवसाय तथा उपभोक्तालाई समेत प्रतिकुल असर पर्ने बताए।

उनले देशमा महँगी बढिरहेको बेलामा आलु, प्याजजस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनु भएको बताए।

हाल आलु प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएको पनि उनको दाबी छ। उनले यस्तो अवस्थामा थप १३ प्रतिशत कर बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु रहेको जिकिर गरे।

यस्तो नीतिले व्यवसाय संकुचित हुने र १३ प्रतिशत भ्याट लगाउँदा आलुप्याज एक तिहाइले महँगिने उनको भनाइ छ। संघले आलुप्याजमा भ्याट आकर्षित गर्ने उपभोक्ता हितविरोधी काम नगर्न सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: २९ जेठ २०८० ११:०७ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast