आन्तरिक पर्यटकको रोजाइमा ‘श्रवणकुमार पार्क’

हिमाल प्रेस १४ असार २०८० १५:२५ | Thursday, June 29, 2023
आन्तरिक पर्यटकको रोजाइमा ‘श्रवणकुमार पार्क’

वालिङ- स्याङ्जाको वालिङ-८ घ्याङ्लिङमा रहेकाे श्रवणकुमार पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परिरहेकाे छ। वालिङ बजार नजिकै रहेको उक्त पार्कमा पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको संख्या दिनहुँ बढ्न थालेको हो।

घ्याङ्लिङस्थित अमिलीथुम आधारभूत विद्यालयको जीर्ण भवन स्थानान्तरण गरेपछि विद्यालय भएको स्थानमा पार्क निर्माण गरिएको हो। स्थानीय नवप्रभात युवा क्लब  र श्रवणकुमार पार्क व्यवस्थापन समितिको सहकार्यमा विद्यालय परिसरलाई पार्कको स्वरूप दिइएको क्लबका अध्यक्ष जीवलाल काफ्लेले बताए।

उनका अनुसार पार्कमा पूर्वाधार निर्माण, सरसफाइ, वृक्षरोपणलगायत कार्य गर्न वालिङ नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी), दियालो, वालिङ होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था र विद्यालय प्रशासन सहयोग गर्दै आएका छन्। ‘विद्यालयसँग भोगचलन गर्ने सहमति गरेर पुरानो जीर्ण भवनलाई मर्मतसम्भार तथा रङगरोगन गरेका छौँ,’ अध्यक्ष काफ्लेले भने, ‘पार्कलाई घेरबार गर्ने, प्रवेशद्वार निर्माण, श्रवणकुमारको प्रतिमा, बगैँचा, वृक्षरोपण, चौपारी निर्माण, शौचालय तथा बाल उद्यानका लागि पूर्वाधार निर्माण र व्यवस्थापन गरेका छौँ।’

उनले बढ्दो बजारीकरणका कारण हुने बजारको कोलाहलबाट केही समय छुट्ट्याएर पार्कमा आनन्दित हुन सकिने बताए। अध्यक्ष काफ्लेका अनुसार पार्कमा बजार क्षेत्रबाट बिहान र साँझको समयमा पैदल हिँडेर आउने आन्तरिक पर्यटकको संख्या बढी छ। ‘दिउँसो र बिदाका दिनमा भने घुम्नका लागि मानिस आउनुहुन्छ। बिहान-साँझ भने हिँडेर व्यायाम गर्नेहरू बढी आउनुहुन्छ,’ उनले भने।

साथीभाइ तथा पारिवारिक समूह गर्मी छल्न पनि यहाँ आउने गरेका उनले बताए। ‘स्मार्ट सिटी’को अवधारणाअनुसार अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरका विभिन्न वडामा पार्क निर्माणमा जोड दिँदै आएको छ।

नगरपालिकाले केही वर्षदेखि पार्कमा पूर्वाधार निर्माण, तारबारलगायतका लागि बजेट विनियोजन गर्दै आएकाे छ। चालु आर्थिक वर्षमा नगरपालिकाले पूर्वाधार निर्माण गर्न १० लाख रुपैयाँ उपलब्ध गराएको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताइन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरका विभिन्न ठाउँमा पार्क निर्माण गर्ने र भएकालाई थप स्तरोन्नति गर्दै लैजाने गरी बजेट विनियोजन गरिएको उनले बताइन्। ‘आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेशबाट १० लाख विनियोजन भएको छ,’ उपप्रमुख तिवारी गैह्रेले भनिन्, ‘पूर्वाधार निर्माण तथा पार्कको व्यवस्थापन गर्न प्राप्त भएको उक्त रकम आवश्यक पूर्वाधार निर्माणमा लगाउने तयारी भइरहेको छ।’ बजार तथा गाउँभन्दा माथिल्लो स्थानमा रहेकाले यहाँबाट बजार तथा टाढासम्मका दृश्यावलोकन गर्न सकिने उनकाे भनाइ छ। रासस

प्रकाशित: १४ असार २०८० १५:२५ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast