 
                             
                                            भारत सरकारले नेपाललाई उपहारस्वरूप दिएका १५ वटा मुर्रा जातका राँगालाई लिएर सदनमा निकै होहल्ला भएको छ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको उपलब्धि तिनै राँगा भएको टिप्पणी गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर फर्किएको’ भनेपछि माओवादीका प्रमुख सचेत हितराज पाण्डेले प्रतिवाद गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले संसद्को रेकर्डबाट ‘प्रधानमन्त्री भैँसी चढेर फर्किएको’ सन्दर्भ हटाउन निर्देशन दिनुपरेको थियो। रास्वपाका सभापति रवि लामिछानेले भने भैँसीसँग सम्बन्धित प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति पनि हटाउनुपर्ने माग गरे।
जे होस् ‘भैँसी’ प्रवेश गराएर माननीयहरूले केही घण्टा संसद्मा चर्काचर्की परेको थियो। कततिपय सांसदहरू राँगा आयात भएको हो वा भैँसी भन्नेबारे पनि स्पष्ट थिएनन्। सरकारले भैँसी ल्याएको होइन, कृत्रिम गर्भाधानका लागि राँगा ल्याएको हो। ती राँगालाई पशु सेवा विभागअन्तर्गत पोखरा र लहानमा रहेका भैँसी प्रजनन केन्द्रमा राख्ने तयारी छ।
नेपालले विदेशबाट यसरी पशु आयात गरेको घटना नयाँ होइन। गत वर्ष अमेरिकाबाट उन्नत जातका सात वटा साँढे ल्याएको थियो। अमेरिकाको सिकागोबाट चार्टर्ड उडानबाट तीन दिन लगाएर ती साँढे ल्याइएका थिए। व्यावसायिक रूपमा पालिएको वर्णशंकर जातका गाईको नश्ल सुधार गरी दूध उत्पादन बढाउन साँढे ल्याइएको थियो।तीमध्ये पाँच वटा जर्सी र २ वटा होल्स्टिन जातका थिए।
त्यतिबेला पनि उन्नत जातका साँढे ल्याउनुलाई एमसीसीको सन्दर्भसँग जोडेर अमेरिकी हस्तक्षेप हुने भनेर अफवाह फैलाइएको थियो। किनकि संसद्बाट एससीसी अनुमोदन र साँढे आयात लगभग एउटै समयमा भएको थियो।
सरकारले बेलाबेलामा विदेशबाट विभिन्न प्रयोजनका लागि पशु आयात गर्दै आएको छ। यहाँ ६ दशकपहिले नै अमेरिकाबाट भेडा, बाच्छा र बंगुर ल्याइएको विषयलाई चर्चा गर्न लागिएको छ। त्यतिबेला चौपायालाई विमान चढाएर ल्याइएको कुरालाई अमेरिकी अखबारले निकै महत्त्व दिएका थिए। ती समाचारमा भेडा, बाच्छा र बंगुर विमानमा चढाएर ल्याइएको उल्लेख छ।
अमेरिकाको हेफर संस्थाले सन् १९४४ देखि नै संसारका कैंयाैँ अल्पविकसित देशमा अमेरिकाका उन्नत जातका विभिन्न पशु पठाउँदै आएको थियो। हेफरले सन् १९५८ सम्म ५१ वटा अल्पविकसित देशलाई हजारौँ संख्यामा गाई, बाख्रा, भेडालगायतका पशु प्रदान गरिसकेको रहेछ।
सन् १९५९ को ४ अगस्टमा अमेरिकाले नेपालमा २ वटा साँढे र ६ वटा भेडा नश्ल सुधारका लागि प्रदान गरेको भनी अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘दी एसोसिएटेड प्रेस’ ले खबर सम्प्रेषण गरेको थियो।
यसै क्रममा अमेरिकाको न्यु विंडसरस्थित हेफर संस्थाबाट सन् १९५८ मा नेपाललाई कुल ८२ वटा पशु प्रदान गरेको थियो। तीमध्ये ५७ वटा भेडा, २० वटा साना बाच्छा र ५ वटा साना बंगुर थिए। ती पशु अन्तर्राष्ट्रिय सहयोग प्रशासनद्वारा नेपालको कृषि विकास कार्यक्रमका लागि प्रदान गरिएको थियो। ती पशुलाई न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानमा चढाइएको थियो। त्यस्तै तीन रातको बासपछि मात्र नेपाल पुग्ने अनुमान गरिएको थियो।
अमेरिकाबाट एउटै विमानमा आएका पशु दिल्लीबाट दुई वटा विमानमा राखेर काठमाडौँसम्म ल्याउने योजना थियो। ती पशुलाई लिएर ‘युनाइटेड इभानजेलिकल एन्ड रिफर्म्ड चर्च’ का मिनिस्टर ‘जेराल्ड आर कब’ साथै आएका थिए। न्युयोर्कबाट प्रकाशित हुने अमेरिकी अखबार ‘दी न्युयोर्क टाइम्स’ को १२ मार्च १९५८ को अंकमा विमानमा पशुहरू राख्दै गरेको तस्बिरसहितको समाचार प्रकाशित भएको थियो। उता न्युयोर्कबाट नेपालका लागि हिँडेको समाचार त्यताबाट छापिएको भए पनि यता नेपालमा ती आइपुगेको वा नआइपुगेको भन्ने कतै पाइएको छैन।
अर्को वर्षसमेत अमेरिकी सरकारले औपचारिक रूपमा नेपालमा थप साँढे र भेडा प्रदान गरेको थियो। सन् १९५९ को ४ अगस्टमा अमेरिकाले नेपालमा २ वटा साँढे र ६ वटा भेडा नश्ल सुधारका लागि प्रदान गरेको भनी अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘दी एसोसिएटेड प्रेस’ ले खबर सम्प्रेषण गरेको थियो। त्यही एजेन्सीको खबरलाई ५ अगस्टको अंकमा ‘दी न्युयोर्क टाइम्स’ ले छापेको थियो। आर्काइभबाट





 
  
  
  
  
  
  
  
  
  
 