सुरक्षाको प्रत्याभूति गर्न गृहमन्त्रीसँग चिकित्सकको माग

हिमाल प्रेस २ असार २०८० १४:३३ | Saturday, June 17, 2023
सुरक्षाको प्रत्याभूति गर्न गृहमन्त्रीसँग चिकित्सकको माग

काठमाडौँ- नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षा व्यवस्था गर्न माग गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोडजस्ता घटना बढेकाले संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी सुरक्षाको प्रत्याभूति गर्न माग गरेको हो।
संघले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएरै सुरक्षाको माग गरेको छ। ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ का सम्बन्धमा देशभरका सुरक्षा निकाय तथा न्यायिक एवं अर्धन्यायिक निकाय अनविज्ञ हुनु अत्यन्तै चिन्ताको विषय बनेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘राज्यको तर्फबाट तर्जुमा गरिएका ऐन, कानुनबमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित तवरले स्वास्थ्य सेवा प्रवाहमा समर्पित हुने उचित वातावरण सिर्जना गरिदिन अनुरोध गर्दछौँ।’
ज्ञापनपत्रमा नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको उदाहरण उल्लेख छ। उक्त घटनाप्रति संघले आपत्ति व्यक्त गरेको छ। गत मंगलबार उपचारका क्रममा भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पतालमा तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी अभद्र व्यवहार गरिएको घटनाका सम्बन्धमा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको छ।
यस्तै अन्य अस्पतालमा भएका घटनाप्रतिसमेत संघले ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले नारायणी अस्पताल वीरगञ्ज, सिन्धुली अस्पताल, सिरहा अस्पताललगायत देशका विभिन्न ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड भएका घटनाले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेको बताए।
उपचार प्रक्रियामा चित्त नबुझेका अवस्थामा कानुनी बाटो अवलम्ब गर्नुभन्दा अस्पताल तोडफोड र अभद्र व्यवहार गर्नेक्रम बढेको उल्लेख गर्दै संघले आपत्ति व्यक्त गरेको छ। रासस

प्रकाशित: २ असार २०८० १४:३३ | Saturday, June 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast