नवलपुर प्रहरीले बेच्यो ४१ लाखको सवारीसाधन

हिमाल प्रेस १६ जेठ २०८० १३:५६
878
SHARES
नवलपुर प्रहरीले बेच्यो  ४१ लाखको सवारीसाधन

नवलपुर- जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ। जाँचका क्रममा आवश्यक कागजपत्र अभावमा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन बिक्री गरी रु ४१ लाख ४३ हजार राजस्व सङ्कलन भएको जनाइएको छ। प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले कसुरजन्य सम्पत्ति नियन्त्रण र जफत गर्ने वा बिक्री गर्ने ऐनअनुसार बरामद सवारीसाधन बिक्री गरिएको जानकारी दिए।

‘जिल्लाका विभिन्न ठाउँमा सवारी जाँच गर्ने क्रममा बरामद भएका दुई वर्ष पुराना सवारीसाधन लिलाम बिक्री गरेका हौँ’, उनले भेन, ‘पटक पटक सार्वजनिक सूचना जारी गरेर आफ्नो सवारीसाधन लैजान आग्रह गर्दा पनि सवारीसाधनका धनी लिन नआएपछि दुई सय ६१ वटा स्कुटर तथा मोटरसाइकल र १० वटा गाडी बिक्री गरिएको हो।’ ऐनअनुसार प्रजिअको अध्यक्षतामा सरकारी वकिल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख, अदालतका कमर्चारी गरी चार जनाको मूल्याङ्कन समिति गठन गरेर बरामद गरिएका सवारी साधन मूल्याङ्कन गरी बिक्री गरिएको प्रहरी उपरीक्षक तिवारीको भनाइ थियो।

‘हामीले चोरीका सवारीसाधनको विवरण बनायौँ, ती साधन बिक्री गर्नका लागि मूल्याङ्कन समिति बन्यो’ उनले थपे, ‘समितिसँग बैठक बस्यौँ, बैठकले प्राविधिकसहितको मूल्याङ्कन उपसमिति बनायो र सोहीअनुसार सवारीसाधनहरू बिक्री गर्न सहज भयो।’ उपसमितिले ३८ वटा गाडी चलाउन योग्य भएको प्रतिवेदन तयार पारेको थियो। ‘ ती गाडीहरू सरकारी कार्यालयलाई दिन मिल्ने व्यवस्था रहेछ, ‘, उनले भने, ‘त्यसका लागि हामीले सरकारलाई लेखेर पठाएका छौँ, सरकारबाट अनुमति भयो भने ती ३८ गाडी सरकारी कार्यालयलाई वितरण गरिदिन्छौँ।’

प्रजिअको अध्यक्षतामा बनेको समितिले सबै सवारीसाधनको विवरतणसहित सवारीधनीलाई दाबी विरोध गर्न आउने १५ दिने सूचना निकाल्दा आठवटा बाइक तथा स्कुटर मात्रै सम्बन्धित धनीले लिएर गएका थिए।  राष्ट्रिय पत्रिका, जिल्ला प्रशासन कार्यालयको वेबसाइट, प्रदेश प्रहरी कार्यालयको वेबसाइट तथा सामाजिक सञ्जालमा सार्वजनिक सूचना  जारी गर्दा पनि सवारसाधन लिन नआएपछि प्रहरीले अन्य कारबाही अघि बढाएको हो।

सूचना प्रकाशन गरेपछि ८ जनाले निवेदन दिएका थिए। सोहीअनुसार उनीहरूलाई सवारी साधन फिर्ता दिइएको थियो। बाइक, स्कुटर र गाडी गरी बाँकी रहेका दुई सय ७१ वटा सवारीसाधनलाई पुनः लिलाम बिक्रीका लागि सूचना निकालिएको उनको भनाइ छ।

नेपालमै पहिलो पटक आफूहरूले नौलो प्रयोग गरेको उल्लेख गर्दै प्रहरी उपरीक्षक तिवारीले आफूहरूले गरेको कामको अनुसरण अन्य कार्यालयलहरूले गर्न गर्न थालेको बताए। चोरी तथा कागजपत्र नभएका सवारीसाधनहरू बरामद गरी राख्दा सवारीसाधनको पाटपुर्जा खिइएर जाने गरेको थियो। जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा डिभिजन वन कार्यालयमा चोरीका सवारीसाधनहरू कुहिएर बस्ने गरेका थिए।रासस

प्रकाशित: १६ जेठ २०८० १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast