२५ सार्वजनिक संस्थान नाफामा, १७ घाटामा

हिमाल प्रेस १४ जेठ २०८० १७:५९
26
SHARES
२५ सार्वजनिक संस्थान नाफामा, १७ घाटामा

काठमाडौँ– सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा र १७ वटा घाटामा रहेका छन्। दुई संस्थानको कारोबार शून्य रहेको छ। सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८० अनुसार आर्थिक वर्ष २०७८/७९ मा नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिण्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको व्यावसायिक कारोबार भएको छैन। सार्वजनिक संस्थानमध्ये जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ। विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामै रहेको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले व्यवस्थित रूपमा गति लिन सकेको छैन। व्यावसायिक कारोबार नभए पनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने भएकाले नोक्सानी व्यहोरिरहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ।

गत आर्थिक वर्षसम्ममा नाफामा सञ्चालित २५ वटा संस्थानको खुद नाफा ३३.६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६१०.९६ प्रतिशतले बढेको छ। गत वर्ष सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.४ प्रतिशतले कमी आएको छ।
आर्थिक वर्ष २०७७÷७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय ४ खर्ब २२ अर्ब ४४ करोड १७ लाख रहेकोमा गत आर्थिक वर्ष २०७८/७९ मा ३६.२२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ९४.१५ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७८/७९ मा नोक्सानी समेतलाई समायोजन गर्दा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ कायम भएको छ। नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा ८.४३ प्रतिशतले कम हो।

सार्वजनिक संस्थानहरुको सञ्चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले कमी आई १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेको छ। सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा १७६.८ प्रतिशतले बढेर ६० अर्ब ३१ करोड ९२ लाख कायम भएको छ। सबै संस्थानको सञ्चित नाफामा ४२.९० प्रतिशतले कमी आई ५२ अर्ब ४० करोड ७८ लाख पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख छ।

गत आर्थिक वर्षमा सेयरधनी कोष र नेटवर्थ अघिल्लो आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले वृद्धि भई ७ खर्ब ६१ अर्ब ३३ करोड २५ लाख पुगेको छ। समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ८.९७ प्रतिशतले वृद्धि भई ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख पुगेको छ।

गत आर्थिक वर्षको तुलनामा सेयर लगानी ४.५४ प्रतिशतले वृद्धि भई ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख पुगेको छ। ऋण लगानी १४.४९ प्रतिशतले वृद्धि भई २ खर्व ८९ अर्ब २३ करोड ७१ लाख पुगेको छ।

प्रकाशित: १४ जेठ २०८० १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =